कपडा बैंक व्यवस्थित बनाऊ
तीन वर्षअघि देशका मुख्य शहरका चोक र गल्लीमा कपडा बैंक स्थापनाले व्यापकता पायो । २०७६ साउनमा काठमाडौंको अनामनगरमा हन्ड्रेड्स ग्रुपले सुरु गरेको कपडा बैंक देशव्यापी बनेको थियो । जोकोही मानिसले आफूलाई आवश्यक नभएका नयाँ तथा पुराना लुगा, झोला, जुत्ताचप्पल, भाँडाकुँडालगायत सामान ल्याएर राख्न सक्ने र आवश्यक हुनेहरुले निःशुल्क लैजान मिल्ने गरी राखिएको स्टललाई कपडा बैंकको नाम दिइएको हो । अन्य मुलुकमा पहिलेदेखि नै प्रचलनमा आएको यस्तो अभियान नेपालमा भने ढिलो सुरु भएको हो । सञ्चार माध्यम र सामाजिक सञ्जालमा यस्तो अभियानको चर्चा भएपछि कपडा बैंक स्थापना गर्ने कार्यले व्यापकता पायो । सामाजिक सञ्जालका समूह, संघसंस्थामात्र नभई राजनीतिक दलका भातृसंगठनहरु पनि अभियानमा सक्रिय बने ।
हेटौंडाको हुप्रचौरमा पहिलो कपडा तथा जुत्ता बैंक खुल्यो । त्योसंगै हेटौंडामा आधा दर्जनभन्दा बढी कपडा बैंक सञ्चालनमा आयो । हेटौंडा–४ को सुमार्गी कम्प्लेक्स, हेटौंडा–१० को बसपार्क, हेटौंडा–५ को सानोपोखरा, हेटौंडा–१ को चौकीटोल ओरालोमा कपडा बैंकको सुरुवात गरियोे । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल हेटौंडा नगर समिति, लायन्स क्लबलगायतले यसको नेतृत्व गरेका थिए । नवीनतम् सोच र उत्कृष्ट सामाजिक कार्यको एउटा नमूना बन्दै गएको कपडा बैंक छोटो समयमा देशव्यापी बन्नुलाई सकारात्मक मान्नुपर्छ । तर, पछिल्लो समय यसको प्रभावकारी सञ्चालन हुन नसकेको देखिएको छ ।
विभिन्न प्राकृतिक प्रकोपबाट पीडित भएका तथा गरिब, निमुखाहरुले यसबाट लाभ लिन सक्छन् । बैंकमा कपडा धेरै भएमा विपन्न परिवार तथा पीडितसमक्ष कपडा पु¥याउन सकिन्छ । शहरका धनाढ्यहरुलाई पुरानो फेसन भएर वा आवश्यक नभएर त्यसै बसेका कपडा, जुत्ता, झोला आदि यस्ता बैंकलाई उपलब्ध गराउन कुनै समस्या हुँदैन । अझ कतिपयले त नयाँ किनेरै सहयोग गर्न सक्छन् । यस्तै, व्यवसायीले आफ्नो पसलमा नबिकेर स्टक बसेका सामग्रीहरु पनि यस्ता बैंकलाई उपलब्ध गराउन सक्छन् । जोकोहीले कपडा ल्याएर राख्न सक्ने र आवश्यकता भएकाहरुले लैजान सक्ने भएकाले यो अभियानले आर्थिक अवस्था कमजोर भएका मानिसलाई सहयोग गर्ने निश्चित छ । त्यसैले यो अभियानलाई अझ व्यवस्थित बनाउन हिजो स्थापना गर्ने संघसंस्थाहरुले पनि चासो दिने र सहयोगी हातहरुले पनि सहयोग बढाउन सके नजिकिँदै गरेको चाडपर्व, जाडो महिनामा किनेर लगाउन नसक्नेहरुलाई ठूलो सहयोग मिल्थ्यो कि ।






