हेटौंडामा पनि अवैध संरचना भत्काइने, भुटनदेवीको सटरबाट सुरुवात गर्न दबाब

साझाकुरा
२०७९ भाद्र १३, सोमबार ०९:२४

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले नगरको ट्राफिक व्यवस्थापनलाई चुनौती दिइरहेको कानुन विपरित बनेका संरचना र फुटपाथमा रहेका व्यवसाय हटाउने भएको छ ।
हेटौंडालाई वर्षौदेखि नगरको ट्राफिक व्यवस्थापन टाउको दुखाई बन्दै आएको छ । साँघुरा सडक जसमाथि पनि फुटपाथ नै ढाक्ने गरी व्यवसायीहरुले सामान राख्दा ट्राफिक व्यवस्थापन गर्न समस्या बन्दै आएको छ । नगरभित्र थुप्रै अवैधानिक संरचना निर्माण हुँदासमेत यसअघि कुनै कारबाही नभएको अवस्थामा वर्तमान नेतृत्वले यसलाई चासोका साथ लिएको छ । नगरभित्र नक्सा पासबिनै निर्माण भएका संरचना भत्काउने तयारी गरिएको मेयर मिनाकुमारी लामाले जानकारी दिएकी छन् । कानुन विपरित जान कसैलाई छुट नभएको भन्दै नक्सा पास बिनै बनेका संरचना, पार्किङका लागि तोकिएको स्थान खाली गराउन उपमहानगरले सूचना जारी गर्ने लामाले बताइन् ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कानुन विपरित बनेका संरचना भत्काउने अभियान नै चलाएपछि हेटौंडाकी मेयर लामामाथि दबाब बढेको छ । नगरबासीहरुले काठमाडौंमा जस्तै अवैध संरचना, फुटपाथ खाली गर्ने र पार्किङलाई तोकिएको स्थानमा चलेका व्यवसाय हटाएर ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन लामामाथि दबाब दिएका छन् । सामाजिक सञ्जालमा हेटौंडामा पनि काठमाडौंको जस्तै सफाई अभियान थाल्नुपर्ने आवाज बुलन्दसँग उठ्दै आइरहेको हो । लामाले पनि नगरबासीको आवाजलाई बुझेर ३५ दिने सूचना जारी गर्ने बताएकी हुन् ।

गत ३० वैशाखमा भएको निर्वाचनमा नगरबासीसमक्ष वाचा गरेका काम पूरा गर्न लागिपरेकी लामाले नगरबासीको भावनाको कदर गर्ने गरी अवैधानिक संरचना हटाउने निर्णय लिएकी हुन् । लामाले निर्वाचनमा प्रतिबद्धता जनाएअनुसार नगरबासीलाई खानेपानी निःशुल्क दिने निर्णय गरिसकेकी छन् । साथै, महिलाहरुका लागि छुट्टै प्रसुति अस्पताल बनाउने प्रतिबद्धता पूरा गर्न उनी जग्गा छनौटमा लागेकी छन् । लामाले नगरबासीको चाहना अनुसार उपमहानगरपालिकाले व्यवस्थित ढंगबाट काम गर्ने प्रतिबद्धता जनाइन् । उनका अनुसार ३५ दिने सूचना निकालेपछि पनि अवैधानिक संरचना खाली नभए उपमहानगरले डोजर लगाउने भएको छ ।नक्सा पास नगरी बनाइएका संरचना र पार्किङका लागि पास भएका स्थानमा सञ्चालित व्यवसाय हटाउन उपमहानगरले ३५ दिने सूचना जारी गर्ने गरी आफूले निर्देशन दिएको उनको भनाइ छ । लामाले अवैध संरचना हटाउने, फुटपाथ खाली गर्ने र पार्किङका लागि तोकिएको स्थानमा सञ्चालित व्यवसाय हटाउने तयारी उपमहानगरले यसअघि नै गरेको बताइन् ।

‘हामीले पहिल्यै अवैध संरचनाहरु हटाउने तयारीअनुसार लगत संकलन गरिरहेका थियौं । अब सूचना निकालेर काम गर्छौ’, लामाले साझाकुरासँग भनिन् । अवैध संरचना र फुटपाथ कब्जा गरेर चलिरहेका व्यवसाय नहटाए उपमहानगरले एक्सन लिने लामाले बताइन् । हेटौंडा–४, स्थित भुटनदेवी माध्यमिक विद्यालयले समेत नक्सा पास नै नगरी १० वर्षदेखि सटर निर्माण गरेर भाडामा लगाउँदै आएको छ । विद्यालयले करोडौं कमाई गर्दा उपमहानगरमा नक्सा पाससमेत गरेको थिएन् ।

मेयर लामालाई भुटनदेवी स्कुलको सटरबाट डोजर लगाउन नगरबासीहरुले अपिल गरेका छन् । ‘वडा अध्यक्षले कुटाई खानुको कारण बनेको र अर्का वडा अध्यक्ष तथा स्कुल व्यवस्थापन समितिले नै नियम विपरित निर्माण गरेको भुटनदेवी माविको नवनिर्मित विवादित सटर–संरचनाबाट सुरु गर्न अनुरोध र सुझाव’, वाईसीएल मकवानपुरका संयोजक लवराज ठकुरीले सामाजिक सञ्जालमा लेखेका छन् । ठकुरी मात्र हैन, अधिकांशले भुटनदेवी विद्यालयले नक्सा पास नै नगरी बनाएको सटर भत्काएर अभियान सुरु गर्न अनुरोध गरेका छन् । भुटनदेवी माध्यमिक विद्यालयले २०६० सालमै निर्माण गरेको सटरको नक्सा पास हालसम्म लिएको छैन । विद्यालयले हालै निर्माण गरेको ४० वटा सटरको पनि नक्सा पास छैन । विद्यालयले नक्सा पासका लागि उपमहानगरपालिका कार्यालयमा फाइल पुगेको जनाएको छ । तर, अधिकांश नागरिकले सर्वसाधारणले नक्सा पास नगरी संरचना बनाए कारबाही गर्ने उपमहानगरले विद्यालयलाई छुट दिन नहुने आवाज उठाइरहेका छन् ।

यसैगरी, नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौंडा उपमहानगपालिका वडा नम्बर २, मानसचोकदेखि मनकामना चोकसम्मको सडकस्तरीकण तथा सवारी पार्किङको व्यवस्थापन गर्न माग गरेको छ ।नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस ईकाई समितिका संयोजक सन्तोष चौलागाईको नेतृत्वमा पुगेको विद्यार्थी टोलीले उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँसमक्ष यथासक्य सडक स्तरीकण र पार्किङ व्यवस्थापन हुनुपर्ने माग राखेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*