मोटरसाइकल दुर्घटनामा परि महिला सेनाको मृत्यु
हेटौंडा- हेटौंडामा मोटरसाइकल दुर्घटनामा परि सेनाको मृत्यु भएको छ ।आइतबार दिउँसो पूर्व–पश्चिम सडकखण्डको हेटौंडा–९ मा हेटौंडाबाट बारातर्फ जाँदै गरेको ग २२ प ६१३ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ना ४ ख ९६०३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई ट्रकमा ठोकिएर दुर्घटना हँुदा बाइकमा सवार सेनाको मृत्यु भएको हो ।मोटरसाइकल दुर्घटनामा परी नेपाली सेना राजदल गण खैरहनीटार तनहँुमा कार्यरत् २५ वर्षीया श्रृजना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
घाइते विकको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । मृत्यु भएकी विककी श्रीमान् मोटरसाइकल चालक पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ घर भई नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २९ बर्षीय आदर्श विककोे भने हातमा सामान्य चोट लागेको छ । विककै ५ बर्षीय छोरा आशिक विकको पनि टाउकोमा सामान्य चोट लागेको छ । घाइते आदर्श र आशिकको अहिले हेटौंडा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता कार्कीले बताए । ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







