मिस मकवानपुरको चौथो संस्करण हुँदै
हेटौंडा- सौन्दर्य प्रतियोगिता ‘मिस मकवानपुर’को चौथो संस्करण आयोजनाको तयारी भइरहेको छ । आयोजक कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालिले सौन्दर्य प्रतियोगिताको तयारी सकेको छ । प्रतियोगितामा मकवानपुरका १५ जनाले प्रतिष्पर्धा गर्ने भएका छन् । मिस नेपाल अर्थ २०२० की सुप्रिया श्रेष्ठ, मोडल पंकज सिंह ठकुरी र एन्जिला श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । प्रतियोगिताको विजेताले ताज, ८० हजार नगदसहित डाइन एण्ड वाईन रेष्टुरेन्टमा रात्रिभोजको व्यवस्था, फोटो सुट, कुनैपनि विधामा आयोजक कम्पनीमा निःशुल्क प्रशिक्षणको व्यवस्था, तीन दिनको आन्तरिक भ्रमणको प्याकेज, निःशुल्क दक्ष मेकप ट्रेनिङलगायत आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् ।
फष्ट रनरअपले ताज, ३५ हजार नगद, फोटो सुट, तीन दिनको आन्तरिक भ्रमण प्याकेजसहित आकर्षक पुरस्कारहरु पाउने आयोजकले जनाएको छ । सेकेण्ड रनरअपले ताज, २० हजार नगद, फोटो सुट, तीन दिनको आन्तरिक भ्रमण प्याकेज र आकर्षक पुरस्कारहरु पाउने जनाइएको छ ।हेटौंडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका कोरियोग्राफर सोफिया फागोले असोज ३ गते सोमबार प्रतियोगिताको ग्राण्ड फिनाले हुने जानकारी दिएकी छन् । प्रतियोगिताको मुख्य प्रायोजक नेपाली उत्पादन क्यालिवर्स सुज रहेको छ ।आयोजक कम्पनीका प्रमुख सुजन श्रेष्ठका अनुसार सह–प्रायोजकमा सिस्टर हुड फेसन स्टोर्सका साथै प्रतियोगितामा डाइन एण्ड वाइन, एनएस सिनेमाको सहकार्य रहेको छ । एजुकेसन पार्टनरको रुपमा राइट पथ, हस्पिटालिटी पार्टनरमा होटल सामना र बैकिंङ पार्टनरमा ज्योति विकास बैंक रहेको श्रेष्ठले जानकारी दिए ।







