एक वर्षमा ३३ वटा मानव अधिकार उल्लंघनका घटना
हेटौंडा- बागमती प्रदेशमा गत एक वर्षमा ३३ वटा मानव अधिकार उल्लंघनका घटनाहरू भएका छन् । गत आर्थिक वर्ष २०७८÷०७९ मा मानव अधिकार उल्लंघनको ३३ वटा घटना भएका हुन् । गत वर्ष प्रदेशको १३ वटा जिल्लाहरुमा ३३ वटा मानव अधिकार उल्लंघनका घटना भएको राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयको रेकर्डमा उल्लेख छ । आयोगको प्रतिवेदनअनुसार त्यसमध्ये नागरिक तथा राजनीतिक अधिकार उलंघनका १७, आर्थिक, सामाजिक तथा सांस्कृतिक
अधिकारका ७, बालअधिकारसम्बन्धी २, महिलाविरुद्धको १, आप्रवासी कामदारहरुको अधिकारसम्बन्धी २, यातना तथा क्रुर अमानवीय व्यवहारविरुद्धको अधिकारका १, जातीय भेदभाव १ र अपाड्डता भएकाको अधिकारसम्बन्धी १ वटा घटना भएका छन् ।
त्यसमध्ये काठमाडौंमा मात्रै ८ उजुरी छन् भने सबैभन्दा कम रामेछापबाट एउटामात्रै उजुरी परेको छ । भक्तपुर, सिन्धुली, रसुवा र मकवानपुरबाट कुनै पनि उजुरी परेको छैन । आयोगमा बागमती प्रदेशमा अघिल्लो वर्षका बक्यौता उजुरीहरूको संख्या ५९७ छ । आयोगमा उजुरी दर्ता भए पनि धेरै उजुरीहरूको फर्छ्यौटमा भने ढिलासुस्ती रहेको देखिन्छ ।







