वडादशैं र नवरात्रि

साझाकुरा
२०७९ आश्विन १०, सोमबार १२:१४

नेपालीहरुको महान् पर्वअन्तर्गत् आज घटस्थापना । आजबाट नवरात्रिको सुरुवात भएको छ । नवरात्रको हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्तिपीठहरूमा श्रद्धालुहरूको भीड हुन्छ । नवरात्रमा दैनिक बिहान जमराको पूजा–पाठ गर्नुपर्छ । दशमीका दिन चामल, रातो अबिर, दही, केरा मिश्रित अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिषसँगै जीवनमा खुशीयाली प्राप्त गरिन्छ । आज घरघरमा जमरा राख्ने गरिन्छ । जमरा कति छर्ने भन्ने कुरा परिवारको संख्याअनुसार निर्धारण गरिन्छ । यसरी छरिने जमरालाई माटोको चतुर्भुजाकारको बिच भागमा माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीका दिन आवश्यकता अनुसार जमरा उखेलेर टीका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यही जमरा, टीका अनि मान्यजनको आशीर्वादले दसैँको रौनकता बढाउँछ ।

जमरा राख्ने चलन ठाउँ अनुसार फरक–फरक हुन्छ । कतै सामूहिक रूपमा दसैँ–घर स्थापना गरेर, गुठीमा या शक्ति पीठ अनि मठ–मन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगतरूपमा आफ्नै घरको पूजा कक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस् । यसरी प्रकाश नपरेका जमराका बालाहरू पहेँला हुन्छन् । घटस्थापनाबाट प्रारम्भ हुने दसैँको नवरात्रि भनेको जमराको नौ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो । १६ औँ शताब्दीका राजा महेन्द्र मल्लले निर्माण गरेको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानी मन्दिरस्थित दसैँघरमा गोर्खाबाट ल्याइएको फूलपातीहरू फूलपातीकै दिन भिœयाइन्छ । यसरी भिœयाइँदै आएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिआएको छ । उहिले आजभोलि जस्तो यातायातको सहज सुविधा थिएन ।

त्यतिबेला गोर्खाबाट आबुखैरेनीसम्म हरेक एक एक किलोमिटरमा सरकारी कर्मचारीहरू उभ्याउन लगाई एउटा कर्मचारीले अर्कोलाई हस्तान्तरण गर्ने र अर्को सोहीअनुरूप अर्को एक किलोमिटरको दूरीमा भएकालाई हस्तान्तरण गरेर रीतपूर्वक फूलपातीलाई रिले दौड जस्तै गरी मानव साङ्लो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो । आबुखैरेनीदेखि भने गाडीमा राखेर काठमाडौँसम्म ल्याइन्थ्यो । यसरी ल्याइएको जमरालाई काठमाडौँको जमलसम्म गाडीमा ल्याएर त्यसपछि तलेजु भवानीको मन्दिरमा अवस्थित दसैँ घरसम्म पारम्परिक बाजागाजासहित भिœयाउने गरिन्थ्यो । गोर्खाबाट ल्याइएको फूलपाती कुनैपनि अवस्थामा चौबीस घण्टा नबित्दै काठमाडौँ ल्याइपु¥याउनुपर्ने मान्यतासमेत रहेको छ ।

फुलपाती भिœयाएसंगै दशैंले उल्लासको रुप लिन्छ । देशविदेशमा भएका परिवारका सदस्य घर फर्किन्छन् । अष्टमीदेखि बली दिने, घरघरमा खसी, राँगा, कुखुरालगायत पशुपक्षि काटेर तिनका मासुका विभिन्न परिकार बनाएर खाने क्रम नवमीसम्म रहन्छ । दशमीको दिनमा टीका लगाएर मान्यजनबाट आशीर्वाद थाप्ने क्रम पूर्णिमासम्म रहन्छ । लामो समयसम्म मनाउने भएकोले पनि यो पर्वलाई महान् पर्व भनिन्छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म दशैंको उल्लास रहने गर्दछ । संयमित, मितव्ययी, स्वास्थ्य अनुकूल रहँदै पर्व मनाऔं । वडादशैंको सम्पूर्णमा शुभकामना ।

यसमा तपाइको मत

Your email address will not be published.


*