निर्यात प्रबद्र्धनात्मक उत्पादन
नेपालमा २०४६ मा प्रजातन्त्र पुनःस्थापनाले आम नेपालीमा समृद्धिको आशा जगाए पनि अझै पूरा हुन सकेको छैन । त्यतिबेला विकासका सूचकहरू नसुधारिएका होइनन्, तर अरू देशको दाँजोमा पुग्न सकेनन् । वास्तवमा नेपालको अर्थतन्त्र कहिल्यै बलियो रूपमा अघि बढेन । कुनैपनि अर्थतन्त्र राम्रो हुन त्यो देशको आम्दानीको स्रोत बलियो हुनुपर्छ । यसका लागि उत्पादन बढाउँदै वस्तु र सेवा बिक्री गर्ने प्रतिस्पर्धी क्षमता चाहिन्छ । उत्पादकत्व निकै उच्च अनि उत्पादन लागत कम हुनुपर्छ । अहिले नेपाली अर्थतन्त्र समस्यामा पर्नुको प्रमुख कारक चुलिँदो व्यापार घाटा र वैदेशिक मुद्राको घट्दो सञ्चिति हो । मुद्रा सञ्चिति घट्नुको कारण व्यापार घाटा नै हो । त्यसैले व्यापार घाटा कसरी कम गर्ने भन्ने प्रश्नमै समाधान खोज्नु जायज हुन्छ ।
निर्यात गर्ने भन्दैमा एकै देशले भएजति सबै कुरा उत्पादन गर्न सम्भव हुँदैन । कुन देशले के उत्पादन गर्ने भन्ने त्यहाँको तुलनात्मक लाभ केमा छ, त्यसले निर्धारण गर्छ । तुलनात्मक लाभका क्षेत्र पहिचान गर्न व्यापक अध्ययन आवश्यक छ । नेपालमा विगतमा त्यस्ता केही अध्ययन भएका छन् । उदाहरणका लागि ए. अग्रवाल र पी. पाण्डेले सन् १९९२ मा गरेको अध्ययनमा नेपालले जीवित पशु, नौनी, चामल, तरकारी जस्ता १५ वटा वस्तु उत्पादन तथा निर्यात गर्न सकिने सुझाइएको थियो । त्यस्तै, एशियाली विकास बैंकले सन् २००९ मा गरेको अध्ययनले काठमा आधारित वस्तु, बुनिएका कपडा, बङ्गुरबाट उत्पादित सुक्खा मासु निर्यात गर्न सकिने देखाएको थियो । नेपालमा यस्तो लाभका प्रमुख वस्तुमा जुटका सामान, कार्पेट, प्याकिङ झोला, पोलिस्टर यार्न, एक्रेलिक यार्नलगायत पर्छन् । तर, लाभको गणना गर्दा आयात–निर्यातको तथ्याड्ढ प्रयोग गरिने भएकाले यी वस्तु उत्पादन गर्ने नेपालको तरिका र क्षमता थाहा हुँदैन । बाहिरबाट सामान झिकाई थोरै मूल्य बढाएर निर्यात गर्दा पनि तुलनात्मक लाभ बढी देखिन सक्छ, तर त्यस्तो निर्यात दीगो हुँदैन ।
उत्पादनीय वस्तु छनोट गर्दा विदेशमा केको माग बढी छ भन्ने पनि ख्याल गर्नुपर्छ । नेपालले पहुँच पाएको विश्वकै सबैभन्दा ठूलो बजारभारतबाट पनि लाभ लिन सकिरहेको छैन । अतः नेपालले उत्पादनको नीति निर्माण गर्दा छिमेकी मुलुकमा केको माग छ भन्नेमा विशेष ध्यान दिनुपर्छ । नेपालबाट हुँदै आएको निर्यातको विश्लेषण गर्दा स्थायी प्रकारको निर्यातयोग्य वस्तु कुनै देखिँदैन । त्यसैले समग्रमा दीर्घकालीनरुपमा निर्यात गर्न सकिने बस्तु तथा सेवा उत्पादन बृद्धिमा ध्यान दिनु जरुरी छ ।






