६ जना बागमती प्रदेशसभा सदस्य प्रतिनिधिसभाको उम्मेदवार

साझाकुरा
२०७९ कार्तिक ४, शुक्रबार ११:४२

हेटौंडा- आगमी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।  देश संघीयतामा गएपछि दोस्रो पटक नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको हो । उक्त निर्वाचनमा बागमती प्रदेशसभाको पहिलो कार्यकालको ६ जना सांसद प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा यसअघि बागमती प्रदेशसभा सदस्य भइसकेका ६ जनाले विभिन्न पार्टीबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । उनीहरुमध्ये अधिकांशले प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेश संरचनाप्रति असन्तुष्टि जनाएका थिए ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीबाट धादिङ–१ मा सोही पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले चुनाव लड्दैछन् । उनी गत निर्वाचनमा सोही क्षेत्रको प्रदेशतर्फको (क)बाट निर्वाचित भएका थिए । एमाले विभाजनपछि गत कात्तिक ११ गते पाण्डेले बागमती प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा सत्तारोहण गरेका थिए ।प्रदेशसभाबाट संघतर्फ चुनाव लड्नेमा सबैभन्दा बढी नेकपा एमालेका सांसद छन् । प्रदेशसभामा एक कार्यकाल बिताएर एमालेबाट ४ जनाले संघमा चुनाव लड्ने अवसर पाएका छन् भने एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक जनाले संघमा चुनाव लड्दैछन् । एमालेबाट रामेछाप–१, सिन्धुली–१, नुवाकोट–१ र सिन्धुपाल्चोक–१ मा यस अघि २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भएका व्यक्तिलाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाइएको हो ।

एमालेले रामेछाप–१ मा कैलाश प्रसाद ढुंगेललाई प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनाएको छ । उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रको प्रदेशसभा तर्फको (ख)बाट निर्वाचित भएका थिए । साढे ३ वर्ष प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका उनलाई एमालेले प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएको छ ।
सिन्धुली–१ मा पनि एमालेले प्रदेशसभा सांसद बनिसकेकालाई प्रतिनिधिसभा तर्फको टिकट दिएको छ । एमालेबाट सो क्षेत्रमा प्रदिप कुमार कटुवाल क्षेत्री (केसी) उम्मेदवार छन् । उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रको प्रदेशसभा तर्फको (ख)बाट निर्वाचित भएका थिए । नुवाकोट–१ मा एमालेले बद्री मैनालीलाई उम्मेदवार बनाएको छ ।

उनी २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी एमाले नुवाकोटको अध्यक्षसमेत हुन् भने एमाले विभाजनपछि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्रीसमेत बनेका थिए । उनले २ महिना ९ दिन मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।एमालेले सिन्धुपाल्चोक–१ बाट सरेश नेपाललाई संघ तर्फको उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा सोही क्षेत्रको प्रदेश तर्फको (ख)बाट चुनाव जितेर प्रदेशसभा सांसद बनेका उनलाई आगामी निर्वाचनमा एमालेले संघको उम्मेदवार बनाएको हो ।उनी २०७७ वैशाखमा डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका थिए । गत २०७४ को निर्वाचनमा विवेकशील साझा पार्टीको समानुपातिक सूचीबाट सांसद बनेका विराजभक्त श्रेष्ठ आगामी निर्वाचनमा प्रत्यक्षबाट चुनाव लड्दैछन् ।

उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–८ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका छन् । उनले बागमती प्रदेशसभा सदस्य रहँदा प्रतिपक्षको बेञ्च सक्रिय भूमिकामा थिए ।पछिल्लो समय विवेकशील साझाभित्रको आन्तरिक विवादमा फरक मत राख्दै आएका उनले सो क्षेत्रमा स्वतन्त्रबाट चुनाव लड्न गत भदौमा पार्टीको केन्द्रीय सदस्य पद त्यागेका थिए ।स्वतन्त्रबाट चुनाव लड्ने तयारी गरेका श्रेष्ठ रणनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह प्रयोग गर्ने गरी चुनावी मैदानमा छन् । प्रदेशसभाको पहिलो कार्यकालमा असन्तुष्टि पोखेका उनीहरु दोस्रो कार्यकालमा प्रतिनिधिसभामामा गएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*