हेटौंडा उपमहानगरको वार्षिक समिक्षा

साझाकुरा
२०७९ कार्तिक १९, शनिबार ०८:५८

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ मा भएका कामको वार्षिक समिक्षा भएको छ । नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शुक्रबार भएको समिक्षा कार्यक्रममा सम्बोधन गर्दै लामाले उपमहानगरका जनतालाई दुःख नहुने गरी छिटो छरितो सेवा प्रदान गर्नु जनप्रतिनिधि र कर्मचारीको पहिलो दायित्व भएको बताएकी छन् ।लामाले वडा अध्यक्ष र उपमहानगरका कर्मचारीहरुलाई नगरबासीको हरेक समस्या समाधान गर्न र उनीहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन निर्देशन दिइन् । लामाले कर्मचारीहरुलाई उपमहानगरमा काम लिएर आएका नगरबासीको कामहरु समयमै सक्नुपर्नेमा जोड दिएका थिए ।

उपमहानगरबाट प्रदान हुने सबै प्रकारका सेवामा गुणस्तरीय काम हुनुपर्ने लामाले बताएकी छन् । आगामी ५ वर्षसम्म कसैले पनि औंला उठाउन नसक्ने गरी सबैले काम गरेर नमूना उपमहानगरको रुपमा स्थापित गर्नुपर्ने उनको जोड थियो ।समिक्षा कार्यक्रममा सामान्य प्रशासन महाशाखा प्रमुख शान्ति विश्वकर्माले आन्तरिक प्रशासन, कानुन तथा सुशासन व्यवस्थापन, सम्पति व्यवस्थापन, राजश्व प्रशासनका क्षेत्रमा भएका प्रगतिबारे जानकारी गराएका थिए । आर्थिक विकास तथा शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले शिक्षा क्षेत्रको वित्तीय प्रगतिसँगै पशुपन्छी विकास, कृषि विकास, उद्योग, सहकारी ता पर्यटन विकास र प्रधानमन्त्री रोजगार कार्यक्रममा भएका प्रगतिबारे कार्यक्रममा प्रस्तुति राखेका थिए ।

लेखा अधिकृत जेकप श्रेष्ठले आर्थिक प्रशासन महाशाखाबाट भएका काम कारबाही, महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुको लक्षित कार्यक्रमबारे जानकारी दिएकी छन् । पूर्वाधार विकास महाशाखा प्रमुख इन्जिनियर सत्यनारायण साहले शहरी पूर्वाधार विकास, योजना कार्यान्वयन तथा सार्वजनिक निर्माण शाखा, भवन इजाजत तथा मापदण्ड कार्यान्वयन शाखा र भूमि इकाईबाट भएका
काम कारबाहीबारे जानकारी दिएका थिए ।

सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले समाज कल्याण, आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन, विपद् प्रतिकार्य, फोहोरमैला व्यवस्थापन र वातावरण, सामाजिक सुरक्षा तथा पञ्जीकरण र न्यायिक समितितर्फको काम जानकारी गराएका थिए ।कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, १ नम्बरका वडा अध्यक्ष तथा प्रवक्ता सबिन न्यौपाने तथा वडा अध्यक्षहरु विष्णुगोपाल महर्जन, सुनिल मोक्तान, ध्रुव सत्याल, रामकृष्ण कोइराला, विष्णुप्रसाद दाहाल, रामकृष्ण थापा, सुकराम केसी, जुना दाहाल, कार्यपालिका सदस्यहरुको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*