मधुमेह र स्वास्थ्य परीक्षण
आज १४ नोभेम्बर अर्थात् विश्व मधुमेह दिवस । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्रसंघले पनि आधिकारिकता दिएको थियो । मधुमेह (डायबिटिज, सुगर अर्थात् चिनीरोग) को उपचारमा हालसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कारक सर फ्रेड्रिक बान्टिङको जन्मदिन १४ नोभेम्बरमा नै भएकाले यो दिनलाई मधुमेह दिवसको रुपमा विश्वभर मनाउन थालिएको हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलोपटक संयुक्तरुपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए । यसवर्ष ‘एजुकेशन टु प्रोटेक्ट टुमरो’ अर्थात् भविष्यलाई सुरक्षित गर्नका लागि स्वास्थ्य शिक्षाको महत्वलाई नाराको रुपमा उजागर गरिँदैछ । जीवनशैली र वंशाणुगत कारणले बर्षेनि विश्वमा लाखौँ मानिसहरू मधुमेहको सिकार बनिरहेका छन् ।
अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरूबाट प्रताडित हुनु पर्दैन । विश्वमा अहिले ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ । नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा डायबिटिज भएको हुनसक्ने अनुमान छ । चिकित्सकहरूले डायबिटिज हुने सबैभन्दा जिम्मेवार कारणलाई हाम्रो जीवनशैली मान्छन् । मधुमेह दुई प्रकारका हुन्छन् । हाम्रो प्यान्क्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने मधुमेह पहिलो प्रकारको मधुमेह हो । यो विशेषतः बच्चाहरूमा देखिन्छ । अरू उमेर समूहका मानिसहरूमा पनि यो हुन सक्ने र यसको एकमात्र उपचार इन्सुलिन दिनु रहेको चिकित्सकहरु बताउँछन् ।
विश्वका मानिसहरूमा देखिने सबैभन्दा साधारण मधुमेह हो । जुनसुकै उमेर समूहका मानिसमा पनि यो मधुमेह देखिन सक्छ । यसलाई चिकित्सकीय भाषामा दोस्रो प्रकारको मधुमेह भनिन्छ । मानिसको प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई शरीरले सही प्रयोग नगर्दा यो मधुमेह हुन्छ । मानव शरीरमा आवश्यक ‘सुगर’को सही सन्तुलन नहुँदा यस्तो हुन्छ । केही काम गर्ने शक्ति वा ऊर्जाका लागि पनि सुगरको आवश्यकता हुन्छ । तर, शरीरमा यसको सही वितरण नहुँदा समस्या निम्तिन्छ ।
मधुमेह हुने प्रमुख कारण मोटोपना हो । अन्य कारणहरुमा तनाव लिनु, उच्च रक्तचाप, कोलेस्ट्रोलको मात्रा बढ्नु र वंशाणुगतरुपमा सरेर पनि मधुमेह हुन सक्छ । मधुमेह कुनै ठूलो रोग नभएको पछिल्लो उपचार पद्धतिले पनि प्रमाणित गरिसकेको छ । यसलाई समयमा नै उपचार गर्ने हो भने यसबाट हामीले छुट्कारा पाउन सकिन्छ । मधुमेह समयमा नै थाहा भयो र यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने विभिन्न गम्भीर रोगबाट बच्न सकिन्छ । मिर्गौला, कलेजो, मुटु, आँखालगायत महत्वपूर्ण अ·मा ठूलो असर गर्नसक्ने भएकाले मधुमेहबाट बच्न समय समयमा स्वास्थ्य परीक्षण गरौं ।






