धमाधम बनाइँदै मतदान केन्द्र, १३ ठाउँमा मतपत्र पुग्न बाँकी
हेटौंडा- मकवानपुरको ४ मंसिर आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका १० वटै पालिकामा भटाभट मतदान केन्द्रहरु निर्माण भइरहेको छ । बुधवार सबै मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारीहरु पुगेसँगै छेकबार लगाउने, मतपेटिका राख्नेलगायतका कामहरु धमाधम भइरहेको हो । प्रदेश निर्वाचन कार्यालयबाट मतदान केन्द्रमा जिम्मेवारी पाएर खटिएका सबै कर्मचारीहरुले निर्वाचनका लागि आवश्यक सामग्री लिइसकेको जनाइएको छ । कर्मचारीहरुले निर्वाचन कार्यालयबाट निर्वाचन सामग्री बुझेर लगेपनि १३ वटा मतदान केन्द्रमा मतपत्र भने पुगिनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । हालसम्म मतपत्र पुग्न बाँकी मतदान केन्द्र हेटौंडा उपमहानगरपालिकाको १३ वटा र मकवानपुर तथा भीमफेदी गाउँपालिकाको रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव
उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरबाट नियुक्त पत्र लिई खटिएका कर्मचारीहरुले जिल्लाका ३ सय ६६ वटै मतदान केन्द्रका लागि आवश्यक निर्वाचन सामग्री बुझेको कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए । जिल्लाका १० वटै स्थानीय तहमा गरेर स्थायी प्रकृतिका ३ सय ६४ र दुई वटा अस्थायी गरी ३ सय ६६ वटा मतदान केन्द्र रहेका छन् । जसमध्ये बिहीवारसम्म ३ सय ४४ वटा मतदान केन्द्रका लागि निर्वाचन सामग्री पठाइएको थियो । प्रमुख पोखरेलका अनुसार थप २२ वटा मतदान केन्द्रका कर्मचारीले शुक्रबार निर्वाचन सामग्री बुझेका हुन् ।
निर्वाचन सामग्री ८१ प्रकारका रहेको उनले बताए । जसमा मतपेटिका, मतपत्रलगायतका निर्वाचन सामग्री रहेका छन् । निर्वाचन आयोगको निर्देशनअनुसार १ मंसिरभित्रै निर्वाचन सामग्री मतदान केन्द्रहरुमा पु¥याइसक्नु पर्ने थियो । पोखरेलले पनि १ मंसिरभित्रै निर्वाचन सामग्री लगिसक्नु पर्नेमा २२ वटा मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले शुक्रबार सामग्री बुझ्न आएको बताए । उनले शुक्रबारसम्म सबै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पुग्ने दाबी
गरेपनि प्रहरीका अनुसार १३ वटा मतदान केन्द्रमा मतपत्र भने नपुगेको हो । मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले निर्वाचन कार्यालयमा रुजु गराएर मात्रै निर्वाचन सामग्री बुझ्न पाउँछन् । विगत ३–४ दिनदेखि प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन सामग्री बुझ्ने कर्मचारीहरुको भिड नै लागेको थियो ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरमा ९० प्रतिशत काम सकिएको पोखरेलले जानकारी दिए । बुधवारभित्र कर्मचारीहरु खटिएको मतदान केन्द्रमा पुगेर सुचना टाँस गर्नुपर्ने भएकाले पनि मतदानका दिनलाई चाहिने आवश्यक सामग्री लिएर जाने कर्मचारीहरुको भिड लागेको हो । १ मंसिरसम्म जिल्लाका १० वटै स्थानीय तहका मतदान केन्द्रहरुमा निर्वाचन सामग्री लिएर गएर मतदानको सवै प्रक्रिया मतदान अधिकृत, सहायक अधिकृत र सहायक स्तरका कर्मचारीहरुले पु¥याउनु पर्छ ।
जिल्लामा शिक्षकसहित ३ हजार बढी कर्मचारी निर्वाचनका लागि खटिएका छन् । हेटौंडामा
रहेका बागमती प्रदेशका विभिन्न मन्त्रालय, जिल्ला स्तरका कार्यालय र स्थानीय तहसमेत गरेर २ हजार ६ सय जना कर्मचारी र अन्य सहायक स्तरका स्थायी शिक्षकहरु निर्वाचनमा खटिने भएका हुन् । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा उपसचिव स्तरका मतदान अधिकृत रहेका
छन् । जिल्लाका अन्य स्थानीय तहमा रहेको मतदान केन्द्रहरुमा अधिकृत तहका मतदान अधिकृत खटाइएको छ । जिल्लामा करिब ३ हजारको संख्यामा म्यादी, नेपाल
प्रहरी, सशस्त्र र नेपाली सेना खटिएका छन् ।







