बागमती प्रदेश प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा कांग्रेस ठूलो दल

साझाकुरा
२०७९ मंसिर १३, मंगलवार १२:०९

हेटौंडा- बागमती प्रदेशको निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा दुबै सदनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।  मंसिर ४ गते भएको निर्वाचनमा बागमती प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा दुबै सदनमा सबैभन्दा धेरै सिट जित्दै कांग्रेस ठूलो दल बनेको हो । पाँच वर्षअघिको निर्वाचनमा तेस्रो रहेको कांग्रेसले यो निर्वाचन आफ्नो निर्वाचन परिणामलाई ३ गुणाले बढाएको छ ।

प्रदेशको सार्वजनिक भइसकेको मत परिणामका आधारमा यस प्रदेशको सबैभन्दा ठूलो दल कांग्रेस हुने र सरकार सत्ता गठबन्धनको बन्ने देखिएको छ ।कांग्रेसले यो निर्वाचनमा छलाङ मार्दा एमाले भने तेस्रोमा खुम्चिएको छ । बागमती प्रदेशमा प्रतिनिधिसभाको ३३ र प्रदेशसभाको ६६ वटा निर्वाचन क्षेत्र छन् । जसमा प्रदेशको एक क्षेत्रबाहेक सम्पूर्ण जिल्लाको मतगणना सकिएको छ । प्रदेशका १३ जिल्लामध्ये दोलखामा पुनःमतदान हुने भएको छ । दोलखाबोहक अन्य ३२ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा कांग्रेसले १३ स्थानमा जीत हात पारेको छ ।

२०७४ को निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभामा ४ सिट मात्रै जितेकोमा यो निर्वाचनमा उसले सो संख्यालाई ३ गुणाले बढाएको छ । कांग्रेसले काठमाडौंमा ५ तथा सिन्धुली, रामेछाप, रसुवा, नुवाकोट, भक्तपुर, ललितपुर, धादिङ र सिन्धुपाल्चोकमा एक–एक सिट जितेको छ । कांग्रेसले काठमाडौंको १, ३, ४, ५ र १० नम्बर क्षेत्र, ललितपुर–२, धादिङ–२, नुवाकोट–२, सिन्धुपाल्चोक–२, सिन्धुली–२ र भक्तपुर–२ नम्बर क्षेत्रमा चुनाव जितेको हो । त्यस्तै, कांग्रेसले एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा र रामेछापमा पनि चुनाव जितेको छ ।

०७४ मा बाम गठबन्धन हुँदा प्रदेशको आधाभन्दा बढी सिटमा जितेको एमाले भने अहिले ४ सिटमा खुम्चिएको छ । सो समयमा एमालेले बाम गठबन्धन हुँदा प्रदेशको २१ वटा सिटमा जितेको थियो । एमाले काठमाडौं, मकवानपुर, ललितपुर, काभ्रेमा एक–एक गरी ४ स्थानमा निर्वाचित भएको छ ।

एमालेले काठमाडौं–९, मकवानपुर–२, काभ्रे–२ र ललितपुर–२ नम्बर क्षेत्रमा जितेको छ । अघिल्लो निर्वाचनमा पहिलो बनेको एमालेलाई तेस्रो स्थानमा झार्दै राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशबाट प्रतिनिधि सभामा धेरै सिट जित्ने दोस्रो पार्टी बनेको छ । हालै गठित सो पार्टीले प्रतिनिधिसभातर्फ बागमती प्रदेशको ७ क्षेत्रमा चुनाव जितेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको २, ६, ७, ८, ललितपुर–३, चितवनको १ र २ नम्बर क्षेत्रमा चुनाव जितेको छ । यस्तै माओवादी केन्द्र पनि यसपटकको निर्वाचनमा ४ सिटमा सीमित भएको छ। यसअघिको निर्वाचनमा माओवादी केन्द्रले प्रदेशका ७ वटा क्षेत्रमा जितेको थियो । नेकपा माओवादी केन्द्रले सिन्धुली, नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकमा एक–एक सिट गरी ४ सिट जितेको छ । माओवादीले नुवाकोट–१, सिन्धुली–१, काभ्रे–१ र सिन्धुपाल्चोक–१ मा जितेको हो ।

राप्रपाले मकवानपुर–१ र चितवन–३ मा चुनाव जितेको छ भने एकीकृत समाजवादीले धादिङ–१ मा चुनाव जितेको छ । यस्तै, नेपाल मजदुर किसान पार्टीले विगतको आफ्नो विरासत जोगाउँदै भक्तपुर–१ मा जित निकाल्न सफल भएको छ । बागमती प्रदेशअन्तर्गत्का १३ जिल्लाका प्रदेशसभातर्फको ६६ निर्वाचन क्षेत्रमध्ये ६४ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ । दोलखाको २ वटा निर्वाचन क्षेत्रबाहेक प्रदेशको अन्य ६४ निर्वाचन क्षेत्रको मत परिणाम आइसकेको हो ।

हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार बागमती प्रदेशको प्रदेशसभामा नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जितेको छ । कांग्रेसले २४ सिट हात पार्दा माओवादी केन्द्र १४ सिटसहित दोस्रो स्थानमा रहेको छ । नेकपा एमालेले १२ सिटमा जित हात पारेको छ । गत २०७४ को निर्वाचनमा बागमती प्रदेशमा एमाले सबैभन्दा ठूलो दलको रूपमा रहेको थियो । प्रत्यक्षतर्फ नै ४२ सिटमा जित हात पारेको एमाले समानुपातिक सहित ५९ सांसद्सहित स्पष्ट बहुमतमा रहेको थियो ।

तत्कालीन समयमा वाम एकता गरेर चुनाव लडेको एमाले र माओवादी केन्द्रले प्रत्यक्षतर्फ ४२ र १७ सिट जित्दा कांग्रेस ७ सिटमा सीमित बनेको थियो । सो निर्वाचनमा कांग्रेसले काठमाडौंको ४ वटा क्षेत्र, मकवानपुर, रसुवा र सिन्धुलीको एक क्षेत्रमात्र जित्न सकेको थियो । यो पटको निर्वाचनमा भने एमाले खुम्चिएको छ ।

यो निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ १२ सिटमात्र जितेको छ । २०७४ मा बाम गठबन्धनमा रहेको अर्को दल माओवादी केन्द्रले २०७४ को निर्वाचनमा १५ स्थानमा जितेको थियो। यस निर्वाचनमा भने माओवादी केन्द्रले १४ वटा क्षेत्रमा जित निकालेको छ । यस्तै राप्रपाले ७ सिट, नेकपा एकीकृत समाजवादीले ५ सिट, हाम्रो नेपाली पार्टी र नेमकिपाले ११ सिट जितेको छ ।

हाम्रो नेपाली पार्टीले बागमती प्रदेशसभामा पहिलोपटक प्रवेश पाउने भएको छ भने राप्रपाबाट पनि पहिलोपटक प्रत्यक्ष निर्वाचित सांसद् प्रदेशसभा जाने भएका छन् । राप्रपाले यसपटक प्रत्यक्षमा सात सिटमात्र जितेको छ । अघिल्लो पटक बागमती प्रदेशसभामा राप्रपाबाट दुई जना समानुपातिक सांसद्मात्रै थिए । तर, यो निर्वाचनमा राप्रपाले प्रत्यक्षरूपमा नै ७ सिटमा सानदार जीत हात पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*