२ नं. वडा बालमैत्री घोषणाको तयारी

साझाकुरा
२०७९ मंसिर १३, मंगलवार १२:२७

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडालाई बालमैत्री वडाका रुपमा घोषणा गर्ने तयारी अघि बढेको छ । हेटौंडालाई नै बालमैत्री घोषणा गर्ने अभियानअन्तर्गत् वडा कार्यालयहरु बालमैत्री घोषणाको तयारी भइरहेको हो । २ नम्बर वडाले बालमैत्री घोषणाका लागि सरोकारवाला निकायहरुबीच अभिमुखीकारण कार्यक्रम गरेको छ । २९ भदौ २०८० भित्र हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको तयारी थालिएको हो ।

हेटौंडा उपमहानगरपालिकालाई भने २०८० मंसिर मसान्तसम्म बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणाको तयारी छ । जसका लागि एक वर्षभित्र नगरका १९ वटा वडालाई बालमैत्री घोषणा गर्न लागिएको हो । आइतबार १ नम्बर वडा कार्यालयमा अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।सोमबार २ नम्बर वडा कार्यालयको आयोजना तथा हेटौंडा उपमहानगरपालिका कार्यालय र प्लान इन्टरनेशल नेपाल तथा राडो नेपालको सहकार्यमा अभिमुखीकरण कार्यक्रम भएको छ ।

वडा अध्यक्ष बिष्णु गोपाल महर्जनको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा सहभागी सबै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष, युवा क्लब, बाल क्लब सञ्जाल, विद्यालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्षहरु, महिला स्वयम्सेविका, स्वास्थ्य कार्यालय प्रमुख, विद्यार्थी, पत्रकार, व्यवसायीहरुले सामूहिकह रुपमा प्रतिबद्धता जनाएका हुन् ।

वडा अध्यक्ष महर्जनले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा सामाजिक रुपान्तरणको महाअभियान भएकाले सम्पूर्ण वडावासीलाई लाग्न आग्रह गरे । विकासको सूचक भौतिक मात्रै नभई सामाजिम पनि भएकाले सबै यो महाअभियानमा लाग्न उनले आग्रह गरेका छन् । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले हेटौंडा उपमहानगरपालिकालाई २०८० मंसिर सम्ममा बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न समय सीमा निर्धारण गरिएको जानकारी दिए ।

नीति, कार्यक्रम, बजेट व्यवस्थापन र जनजागण, सरोकारवालाई एकिकृत गरेर अगाडि बढाउने काममा लागि लागेको बताउँदै उनले तयारी दु्रत गतिमा अगाडि बढाएको जानकारी दिए । बालबालिकासँग जोडिएको यो अभियान हरेक घर धुरीको तह र तप्का संलग्न हुनुपर्नेमा जोड दिर्दै उनले सम्पूर्ण नगरवासीको दायित्व भएकाले एक ढिक्का भएर अभियानमा लाग्न आग्रह गरे ।

महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णु कुमारी लामिछानेले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेकी थिइन् । उनले १ देखि १९ वडामा वडा स्तरीय अभिमुखीकरण कार्यक्रम संचालन गरिने जानकारी दिइन् । भदौं ५ गते सामुहिक प्रतिवद्धता भए बमोजिम काम सुरु गरिएको हो, उनले थपिन् ५१ वटा सूचकहरुमा सबै मिलेर काम गर्नुपर्छ । उक्त अवधिसम्म बालमैत्री स्थानीय शासनयुक्त वडा बनाउन पूरा गर्नुपर्ने सबै ५१ वटा सूचकहरु पूरा गर्न सरोकारवालाहरु सहमत भएका हुन् ।

कार्यक्रममा सहजीकरण गर्दै बालमैत्री स्थानीय शासन सहजकर्ता विष्णु चौबेले बालमैत्री स्थानीय शासन अबलम्बन गर्दा सिङगो पालिकाको कार्यक्षमतामा बढोत्तरी हुने बताए । उनले संविधानको भाग ३ मौलिक हकअन्तर्गत् धारा ३९ र स्थानीय शासन सञ्चालन ऐन, २०७४ परिच्छेद ३ दफा १२ को (ग) बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र कार्यविधि २०७९ बमोजिम हेटौंडा उपमहानगरपालिकाको बालबालिका सम्बन्धी विभिन्न नीति, कार्यविधि बमोजिम वडालाई बालमैत्री घोषणा गर्न लागिएको बताए ।

मकवानपुरका १० स्थानीय तहमध्ये मनहरी, बकैया र मकवानपुरगढी बालमैत्री घोषणा भइसकेका छन् । हेटौंडा सहित कैलाश, भीमफेदी, राक्सिराङ गाउँपालिकाले पनि बालमैत्री घोषणाको तयारी गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*