मनहरीमा ४८ जना मोतियाबिन्दुका बिरामी
हेटौंडा- मनहरी गाउँपालिकामा बिहीवार भएको आँखा शिविरबाट ४८ जनामा मोतियाबिन्दु भएको फेला परेको छ ।आँख शिविरमा २ सय जनाले आँखाको परिक्षण गरेका थिए भने ४८ जनामा मोतियाबिन्दु देखिएको जनाइएको छ । हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजनामा भएको आँखा शिविरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा मनहरी र मनहरी सामुदायिक आँखा अस्पताल मनहरीको सहकार्यमा कार्यक्रम भएको हो ।
मोतियाबिन्दुका समस्या देखिएकाहरुलाई शुक्रबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रियाका लागि लगिने नेपाल रेडक्रस सोसाइटी उपशाखा मनहरीका सभापति नुरोज पौडेलले जानकारी दिए ।मोतियाबिन्दुका बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क रुपमा शल्यक्रिया गरिने जनाइएको छ । आँखा अस्पतालले जिल्लाका हरेक गाउँमा पुगेर आँखा शिविर गर्दै आइरहेको छ ।
सेवामूलक उपचारमा पनि सक्रिय अस्पतालले बाहिरी जिल्लामा पनि शिविर गर्दै आइरहेको छ । तराईका सर्लाहीदेखि बारा, पर्सा, रौतहटका बिरामीसमेत आँखा उपचारका लागि हेटौंडा आउने गरेका छन् । आँखा जस्तो संवेनदशील अंगको उपचारमा बिरामीहरुले हेटौंडा सामुदायिक अस्पताललाई धेरै विश्वास गर्ने गरेको पाइएको छ ।







