१६ वर्षको उमेरमा ऋत्विकको ‘कोरिएका धर्साहरु’
हेटौंडा- हेटौंडाका एक १६ वर्षीय बालकले तयार पारेको कविता संग्रह ‘कोरिएका धर्साहरु’ विमोचन गरिएको छ । हेटौंडा–२, स्थित बालजागृति अंग्रेजी माध्यमिक विद्यालयको कक्षा १० मा पढ्दै आएका ऋत्विक केबीको पहिलो कविता संग्रह ‘कोरिएका धर्साहरु’ विमोचन गरिएको हो ।
ऋत्विकको आमा पुण्यशिला श्रेष्ठ प्रकाशक रहेको कविता संग्रह बिहीबार बालजागृति विद्यालयमा विमोचन गरिएको हो । संग्रहमा २४ वटा कविताहरु रहेका छन् ।
सर्जक सञ्जाल मकवानपुर अध्यक्ष साहित्यकार निमेष निखिलले सानै उमेरमा कविता संग्रह प्रकाशन गरेको भन्दै उनको प्रशंसा गरे । बालजागृति विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले ऋत्विकको कविता संग्रहले गौरभान्वित भएको सुनाए ।हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यतामा भएको विमोचन कार्यक्रममा बालजागृति विद्यालयका सञ्चालक समिति अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षता रहेको थियो ।
ऋत्विकको आमा पुण्यशिलाले २० वर्षमा आफूले पहिलो कृति प्रकाशन गरेको तर छोराले १६ वर्षमै कृति प्रकाशन गरेर रेकर्ड ‘ब्रेक’ गरेको बताइन् । उनका बाबु ऋषि केबीले पनि आफ्नो पहिलो कृति १८ वर्षको उमेरमा निकालेको भन्दै छोराले सानै उमेरमा कविता संग्रह निकालेको बताए ।
कार्यक्रममा उच्च अदालत बार एसोसिएसन मकवानपुरका पूर्वअध्यक्ष मदन दाहाल, बालजागृति विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण तिमल्सिना, साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी लगायतको आतिथ्यता थियो ।







