उद्देश्यअनुरुप सहकारी सञ्चालन आवश्यक

साझाकुरा
२०७९ पुष ३, आईतवार ०९:४३

सहकारी हुनलाई सहकार्यमा सबैको उद्देश्य एक हुनुपर्छ । तर, एउटै उद्देश्य भन्दैमा राजनैतिक कार्यकर्ताहरुले संस्था गठन गरेर सहकारी संस्थालाई राजनैतिक मञ्चको रुपमा उपयोग गर्ने, एउटा डाक्टरले प्रवेश गरेर आफ्नो क्लिनिकमा सबै सदस्यहरु बोलाएर आफ्नो आम्दामी बढाउने, ठगहरु मिली संस्था गठन गर्ने र छद्म प्रवृत्तिका व्यक्तिहरु पसेर सदस्यको बचत लिएर कुलेलम ठोक्ने व्यक्तिहरुर समूहहरुको बीच एकै उद्देश्य हुने भएपनि त्यस्तो सहकार्य सहकारी मूल्य विपरीत हुने भएकोले सहकारी हुनै सक्दैन ।

व्यापारी र किसानबीच एउटै उद्देश्य नहुन सक्छ । त्यसैले उद्देश्य एकै हुनलाई पेशागत समानता, पूँजीगत समानता, सोचाई र दृष्टिकोणमा समानता जस्ता पक्षहरु महत्वपूर्ण मानिन्छन् । सहकार्य सहकारीको मूल्य मान्यता, सिद्धान्त र मर्मअनुरुपको हुन सक्छ । हाल नेपालमा बचत तथा ऋण, बहुउद्देश्यीय, दुग्ध, कृषि, स्वास्थ्य, सञ्चार, शिक्षा, उपभोक्तालगायत सहकारी संस्थाहरु दर्ता भएर सञ्चालनमा छन् । तर, विशेष उद्देश्य राखेर सहकारी दर्ता गरिए तापनि संस्थाको प्रमुख गतिविधिमा बचत संकलन गर्ने र ऋण प्रवाह गर्ने पर्दै आएको छ ।

जुन उद्देश्य लिएर सहकारी संस्था दर्ता गरिएको हो, त्यो उद्देश्य पूरा गर्नको लागि सोही उद्देश्यअनुरुप काम गर्नु अपरिहार्य छ । सहकारी संस्थाहरु स्थानीय तहको मातहत आएका छन् । अब सहकारी नियमन गर्नको लागि उद्देश्यअनुरुप सहकारी सञ्चालन गराउन स्थानीय तहले प्रभावकारी कदम चाल्नु पर्दछ । कृषि सहकारीले कृषि प्रबद्र्धन नगर्ने, दुग्ध सहकारीले दूध उत्पादन बढाउने र कृषकलाई प्रोत्साहन नगर्ने, उपभोक्ता सहकारीले उपभोग्य बस्तु उत्पादन र बजारीकरण नगर्ने जस्ता उद्देश्यमूलक ढंगले नचल्दा सहकारीबाट हुनुपर्ने प्रगति नभइरहेको स्पष्ट छ ।

अब सहकारी संस्थालाई एकीकरण गर्ने मुद्दा उठिरहँदा सहकारीको उद्देश्यहरुलाई मिलाएर एकीकरण गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने बेला भएको छ । स–साना सहकारी संस्थाहरुमा जम्मा भएर बसेको जनताको धेरै ठूलो धनराशि उपलब्धिहीन अवस्थामा छ । सहकारीमा रहने सञ्चित कोष, तरलतालगायत पूँजीलाई उत्पादनमूलक कार्यमा प्रयोग गर्न सके देशमा रोजगारीको प्रबद्र्धन गर्न पनि सकिन्छ । स–साना बस्तु उत्पादनमा सहकारीहरु लाग्न सके त्यसले पूँजी प्रबद्र्धनमा पनि टेवा पुग्ने देखिन्छ । त्यसैले सहकारीहरुलाई उद्देश्यअनुरुप सञ्चालन गर्दै उत्पादनमूलक क्षेत्रमा जोड्न ढिला गर्नु किमार्थ हुँदैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*