तेलको मूल्य आकाशिदा मकवानपुरमा तोरी खेती बढ्यो

साझाकुरा
२०७९ पुष ६, बुधबार ११:५५

हेटौंडा-बजारमा तेलहनजन्य पदार्थको मूल्य आकाशिएपछि मकवानपुरमा किसानहरुले तोरीको खेती गर्न सुरु गरेका छन् । विगत दुई वर्षदेखि तोरीको तेलको मुल्य आकाशिएको छ । तोरी प्रतिलिटर ३ सय ५० रुपैयाँ पर्ने गरेको छ । एक लिटर तोरीको तेलकै साढे ३ सय रुपैयाँ पर्ने भएपछि सामान्य आर्थिक अवस्थाका परिवारलाई तेल खरिद गर्नै मुस्किल पर्ने देखिन्छ । भान्सामा तोरीको तेललाई सबैभन्दा उत्तम मानिन्छ । होटल तथा रेष्टुरेन्टहरुमा तोरीको तेल कमै प्रयोग हुने गरेपनि घरहरुमा तोरीको तेललाई रुचाइएको छ ।

मकवानपुरगढी–५, की सरस्वती ढकालले यसवर्ष करिब ३ कठ्ठा खेतमा तोरी खेती लगाएकी छन् । उनले विगतका वर्षमा असोजमा नगदे बालीका रुपमा रहेको आलु खेती गर्ने गरेकी थिइन् । आलु खेतीबाट निश्चित पैसा आम्दानी भएपनि तोरीको तेल किन्न धेरै पैसा गर्ने भएकाले उनले यसवर्ष आलु लगाइनन् ।‘मैले आलु लगाउने ठाउँमा सबै तोरी लगाएँ । तोरीको तेल किनिसाध्य छैन् । घरमा बालबच्चा छन् । भान्सामा जसरी पनि तोरीको तेल चाहिन्छ । अब तोरीको तेल किनेर खान सक्ने अवस्था रहेन्,’ ढकालले भनिन् । उनले तोरीको तेलको मुल्य धेरै बढेकाले खेती पनि तोरीकै गरेको बताइन् ।

उत्पादित तोरीलाई हेटौंडाको तोरी मेलमा पेल्ने उनको भनाई छ । उत्पादित तोरीबाट एक वर्षसम्म तोरीको तेल पुग्ने उनको भनाई छ । सरस्वती मात्र हैन, स्थानीय बिनिता हुमागाईले पनि आलु लगाउन छोडेर तोरी लगाएकी छन् । ‘आलुबाट आएको पैसा भन्दा तोरीको तेल किन्दा धेरै पैसा जाने भयो । अब आलु भन्दा तोरी लगाएर तोरीको तेल पेल्दा नै फाइदा छ,’ हुमागाईले सुनाइन् ।

आलु लगाउन छोडेर तोरी खेती गर्ने ढकाल र हुमागाई प्रतिनिधि पात्र मात्र हुन् । मकवानपुरगढीका अधिकांश किसानले तोरी खेती गरेको मकवानपुरगढी गाउँपालिकाको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । विगतका वर्षमा आलु खेती हुने गरेको खेतमा यसवर्ष धेरै तोरी फुलेको उनको भनाई छ । गाउँका फाँटहरु पहेँलपुर भएको चौधरीले बताए । मकवानपुर उद्योग वाणिज्य संघमा किराना पसल सञ्चालन गर्दै आएका लीला न्यौपानेले अन्य तेलको तुलनामा तोरीको तेल महंगो भएको बताए । उनका अनुसार शुद्ध तोरीको तेल साढे ३ सय रुपैयाँ प्रतिलिटर पर्ने जानकारी दिए

आफूले शुद्ध तोरीको तेल मात्रै बिक्री गर्दै आएको बताएका न्यौपानेका अनुसार बजारमा मिसावट गरिएको तोरीको तेलसमेत साढे २ सय भन्दा बढी पर्ने जनाइएको छ ।तोरीको तेल डेढ दुई वर्षअघि ३ सय रुपैयाँ रहेको न्यौपानेले बताए । त्यसयता तोरीको तेलको मुल्य नघटेको उनले जानकारी दिए । तोरीको तेल स्थानीय स्तरमै उत्पादन भयो भने मुल्य घट्ने न्यौपाने बताउँछन् । ‘सबैले सिजनमा तोरी लगाए २ सय रुपैयाँ पनि हुन्छ,’ न्यौपानेले भने । उनको भनाईलाई आधार मान्दा पनि तोरीको खेती बढेको पाइन्छ ।

किसानहरुले तोरी बिक्रीबाटै राम्रो आम्दानी गर्नसक्ने देखिएको र घरायसी प्रयोजनका लागि पनि तोरीको खेती गरेको पाइएको हो । मकवानपुरका धेरै स्थानीय तहका किसानहरु नगदे बाली तोरी खेतीप्रति आकर्षित भएका छन् । अहिले हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिकालगायतका क्षेत्रका खेतमा तोरी फुलेको देख्न सकिन्छ ।

विगतमा गहुँ र आलु धेरै लगाउने किसानले अहिले भने तोरी खेती गर्न थालेको मकवानपुरगढी गाउँपालिका किसान कृष्ण घिमिरे बताउँछन् । अन्न बालीबाट खासै आम्दानी नभएपछि परीक्षणको रुपमा गरिएको तोरी खेतीको उत्पादन राम्रै भएपछि यसप्रति किसान आकर्षित भएको उनको भनाई छ । ‘पहिले यो सिजनमा धेरै किसानले गहुँ लगाउँदै आएका थिए । अहिले भने तोरी खेती गर्न थालेका हुन्,’ घिमिरेले भने । तोरी फुलेको क्षेत्रमा आन्तरिक पर्यटन पनि बढेको देखिन्छ । धेरै युवा, युवतीहरु फेसबुक, टुइटर, इन्स्ट्राग्राम र टिकटकमासमेत पहेँलपुर खेतको फोटो र भिडियोहरु पोष्ट गर्ने गरेका देखिन्छन् ।

तोरी पेलेर आएको तेलले घरमा भुटुन खान र केही आफन्तलाई कोसेली दिन पुगेको किसानहरुले बताउने गरेका छन् । किसानहरुले आफुले उत्पादन गरेको तोरीले मिलमा गएर तेल पेल्ने र केही बाँकी रहेको तेल भने बजारमा बिक्री गर्ने गरेको बताए । गाउँघरमा पुराना तेल पेल्ने प्रविधि हराएकाले हेटौंडा बजारसम्म आएर तोरी पेलेर ल्याउनुपर्ने बाध्यता भने किसानहरुलाई छ । स्वास्थ्यका लागि भटमास र सुर्यमुखीको तेल खानुभन्दा तोरीको तेल खान विज्ञहरुले सुझाइरहेका पनि छन्

हेटौंडा–१६ का किसान स्याम तिमल्सिनाले तोरी खेती गर्नेहरुको लहर नै चलेको बताए ।तोरी खेतीबाट शुद्ध तेल पाउनु मात्रै होइन, गाईभैंसीलाई खुवाउन पनि किसानहरुले प्रयोग गर्दै आइरहेका छन् । पिना खुवाएपछि गाईभैंसीले धेरै दुध दिने किसानहरुको भनाई छ । तोरी खेती बहुउयोगी सावित हुन लागेपछि किसानहरु तोरीप्रति आकर्षित भएका हुन् । तोरी खेतीको सम्भावना देखिएका कारण स्थानीय तहरुले पनि किसानहरुलाई प्रोत्साहनलगायतका कार्यमा सहयोग गर्नुपर्ने आवाज उठिरहेको छ ।

नगदेबालीकै लागि मकवानपुरगढी गाउँपालिकाबाहेक अन्य स्थानीय तहले प्राथमिकताका साथ कार्यक्रम ल्याएको देखिँदैन् । मकवानपुरगढीले किसानहरुलाई विभिन्न नगदेबालीमा अनुदानसमेत दिँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*