हेटौंडामा पक्राउ परेका विप्लव नेकपाका सात कार्यकर्तालाई छोडियो

साझाकुरा
२०७९ पुष ६, बुधबार १२:४१

हेटौंडा-हेटौंडा–१०, बसपार्कस्थित पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन आवागमनलाई अवरोध गर्न खोज्दा पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरी छोडेको छ ।तत्कालीन सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न वर्तमान सरकारले ल्याएको अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै विप्लवका नेता, कार्यकर्ताले मंगलबार बिहान हेटौंडा बसर्पाकमा आन्दोलन गरेका थिए ।

ब्यानरसहित एक घण्टा आन्दोलन गर्न खोज्दा विप्लव नेकपाका ७ जना नेता, कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले तत्काल नियन्त्रणमा लिएको थियो । बिहान नियन्त्रणमा दिइएका पार्टीका नेतादेखि विद्यार्थी नेताहरुलाई साँझ अगामी दिनमा राजमार्गमा अवरोध नगर्ने सर्तमा छोडिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

नेकपा मकवानपुर निकट अखिल क्रान्तिकारी उपाध्यक्ष सूर्य सिंहको नेतृत्वमा सात जनाको संख्यामा भेला भएर पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन आवागमलाई अवरोध सुरु गरेपछि पक्राउ गरिएको कार्कीले जानकारी दिए । विप्लव नेकपाका विद्यार्थी संगठनहरुले देशभर आन्दोलन चर्काएका थिए ।

प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–३ डोटे बस्ने पार्टी केन्द्रीय सदस्य ३६ वर्षीय राम घलान, अखिल क्रान्तिकारी उपाध्यक्ष मनहरी गाउँपालिका–२ ठाडोखोला बस्ने २४ वर्षीय सूर्य सिंह, हेटौंडा उपमहानगरपालिका–१, चौकिटोल बस्ने अखिल क्रान्तिकारी पश्चिम बागमती विद्यार्थी संयोजक २५ वर्षीय विवेक घलान, चौकिटोल बस्ने पार्टी वडा सदस्य २० वर्षीय सुरज घलान, मनहरी–२ ठाडोखोला बस्ने पार्टी वडा सदस्य २४ वर्षीय अमन लामालाई पक्राउ गरेको थियो ।

यसैगरी, मनहरी–२ ठाडोखोला बस्ने पार्टी वडा सदस्य २४ वर्षीय रवि रुम्वा र मनहरी–१ गोगनपानी बस्ने अखिल क्रान्तिकारी जिल्ला सदस्य २३ वर्षीय भुषण लामालाई पनि बसर्पाकबाट नियन्त्रणमा लिइएको डीएसपी कार्कीले जानकारी दिए । विगतका दिनदेखि मकवानपुरमा विप्लव नेतृत्वको नेकपाले आन्दोलन गरिरहेको छ ।

सोमबार साँझ पनि हेटौंडामा विप्लव नेकपाले आन्दोलन गरेको थियो । ‘पक्राउ परेका ७ जनालाई अबको दिनदेखि राजमार्गमा अवरोध नगर्ने सर्तमा परिवारको जिम्मा लगाई पठाइएको छ,’ डिएसपी कार्कीले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*