मकवानपुरमा वार्षिक ६ हजार ७ सय ७१ मेट्रिकटन मासु उत्पादन

साझाकुरा
२०७९ पुष १२, मंगलवार ११:४३

हेटौंडा- मकवानपुरमा वार्षिकरुपमा ६ हजार ७ सय ७१ मेट्रिकटन कुखुरा र हाँसको मासु उत्पादन हुने गरेको पाइएको छ । दशौं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका डा. निशान्त शर्मा गेलालले मकवानपुरमा वार्षिक रुपमा ६ हजार ७ सय ७१ मेट्रिकटन कुखुरा र हाँसको मासु उत्पादन हुने गरेको जानकारी दिएको हो । गेलालले जिल्लामा वार्षिक रुपमा २१ लाख ३० हजार कुखुरा र ४ हजार ३ सय हाँस गरी जम्मा २१ लाख ३४ हजार ७ सय ३८ वटा कुखुरा हाँस पालन भईरहेको बताए ।
जिल्लामा ३६ हजार ५ सय हजार गोटा अण्डा उत्पादन हुने गरेको गेलालका भनाई छ ।

यस्तै, बागमती प्रदेशमा १ लाख ६३ हजार ३९ सय ३९ मेट्रिकटन मासु उत्पादन हुने तथ्याड्ढमा देखिएको छ । आर्थिक वर्ष २०७८÷०७९ को तथ्याड्ढ अनुसार प्रदेशमा कुखुरा÷ हाँसको मासु उत्पादन एक लाख १३ हजार ४ सय ३२ मेट्रिकटन छ । प्रदेशको कुल अण्डा उत्पादन ८ लाख ९९ हजार ३ सय ३५ हजार गोटा रहेको बताईएको छ । प्रदेशको कुल मासु उत्पादनमा पोल्ट्रीको योगदान ६९ प्रतिशत र राष्ट्रिय अण्डा उत्पादनमा बागमती प्रदेशको योगदान ६० प्रतिशत रहेको छ । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधारः हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका निमित्त प्रमुख बज्र किशोर ठाकुरको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका कृषी तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा अन्तरक्रिया भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री हुमागाईले बागमती प्रदेश सरकारले प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना गरिएको र सञ्चालनको प्रक्रिया अघि बढेको बताए । उनले प्रदेश सरकारले प्रदेश कृषि विकास अध्यादेश, २०७९ बनाएको र प्रमाणीकरणको चरणमा रहेको बताए । बागमती प्रदेश सरकारले किसानहरुलाई लक्षित गरेर ५ करोड रुपैयाँ बजेट छुट्याएर स्थायी क्षतिपुर्ति कोष स्थापना गरी सञ्चालन गरिएको उनको भनाई छ । बागमती प्रदेश सरकारले किसानहरुको वर्गीकरण गरेर परिचयपत्र वितरण गरिने बताए । मन्त्री हुमागाईले व्यवसायीले उत्पादन
गरेको वस्तुको व्यवस्थित बजार पाउनुपर्ने र गुणस्तरीय उत्पादन गर्नुपर्ने जानकारी दिए ।

यस्तै, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका निमित्त प्रमुख बज्र किशोर ठाकुरले पोल्ट्रीको सप्ताहव्यापी कार्यक्रमले अण्डा तथा मासुको उपभोग बढ्ने विश्वास व्यक्त गरे । उनले प्रदेशभित्र दानाको परिक्षण र दानाको गुणस्तर सम्बन्धी मापदण्ड तयार गरी लागू गर्नुपर्ने धारणा राखे । यस्तै, मकवानपुरका उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा पोल्ट्री व्यवसायी
राजु अधिकारीले जिल्लामा अहिले पोल्ट्री व्यवसायीहरुको संख्या घट्दै गईरहेको गुनासो गरे ।

मकवानपुरमा तीन वर्ष अघि ३ हजार पोल्ट्री व्यवसायी रहेकामा अहिले एक हजारको संख्यामा मात्रै पोल्ट्री व्यवसायी रहेको र यो पनि घट्दै जाने उनले बताए । व्यवसायीले उत्पादन र लगानी अनुसार बजार मुल्य नपाइरहेको उनले स्पष्ट पारे । सिधै किसानले पोल्ट्री बजारमा आफ्नो उत्पादन विक्री गर्न पाए उचित मुल्य पाउने उनको भनाई छ । उनले सम्बन्धित निकायले कस्ले कुखुरा पाल्न पाउने र एक जना पोल्ट्री व्यवसायीले कति वटासम्म कुखुरा पाल्न पाउने भनि मापदण्ड बनाउनुपर्ने धारणा राखे । नत्र कुनै एक व्यक्तिले मात्र धेरै संख्यामा उत्पादन गर्ने र अरु स–साना व्यवसायी संकटमा पर्ने उनको भनाई छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार दिउँसो २ बजे जिल्लाभित्रका पोल्ट्री व्यवसायी संघ संस्थाहरुसँग अन्तरक्रिया गरेको छ । कार्यक्रमको दोस्रो दिन मंगलबार मनहरी गाउँपालिका वडा नम्बर ३ स्थित प्रजा निमाविमा अण्डा तथा मासु उपभोगको महत्वबारे स्कुल शिक्षा कार्यक्रमसहित अण्डा खुवाउने कार्यक्रम रहेको जनाएको छ । तेस्रो दिन बुधबार बकैया गाउँपालिका वडा नम्बर ११ मा गर्भवती महिला, कुपोषण र पुड्कोपना भएका बालबालिकाहरुलाई अण्डा वितरण गरिने जनाएको छ ।

बिहिबार सामरी र कमानेमा पोल्ट्री कृषकहरुलाई सचेतना कार्यक्रम, शुक्रबार राष्ट्रिय दैनिक पत्रपत्रिकामा पोल्ट्री क्षेत्रसँग सम्बन्धित र सान्दर्भिक लेख रचना कार्यक्रम, शनिबार बुद्धचोमा श्रमिकहरुलाई अण्डाको परिकार वितरण र आइतबार कार्यक्रमको समापन गरिने जनाएको छ । बागमती प्रदेशभित्र सञ्चालित पोल्ट्री व्यवसायले देशको कुल मासु तथा अण्डा उत्पदनमा क्रमशः २२ र २६ प्रतिशत योगदान पुर्याउँदै आएको प्रमुख ठाकुरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*