ब्याजदरमा पुनर्बिचार जरुरी

साझाकुरा
२०७९ पुष १९, मंगलवार १०:५८

आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीहरुले बैंकले ब्याजदर बढाएर झन् आक्रान्त पारेको भन्दै आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय सरकारले जारी गरेको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन–२०७९ लागू भएपछि त झन् आर्थिक संकट परेको भन्दै सच्याउन माग गर्दै व्यवसायीहरु सडक आन्दोलन चर्काउन बाध्य भएका छन् । व्यापार राम्रो छैन । महंगी बढिरहेको छ । जनताको क्रयशक्तिमा ह्रास आइरहेको छ । व्यवसायीहरुले बैंकबाट ऋण काढेर व्यवसाय गरिरहेका छन् । यही बेला बैंकले निर्धारितभन्दा व्याजदर बढाएपछि व्यवसायी थप आक्रान्त बनेका छन् ।

मकवानपुर जिल्ला औद्योगिक जिल्ला हो । यहाँ सञ्चालन भइरहेका उद्योगहरु व्यापार नभएका कारण आधा समयमात्र सञ्चालन हुने अवस्था आइरहेको छ । वाणिज्य क्षेत्रका व्यवसाय पनि धिमा गतिमा चलिरहेको छ । यस्तो अवस्थामा झन् बैंक व्याज बढेर व्यवसायीहरु चपेटामा परेका हुन् । निजी क्षेत्रका व्यवसायीहरुको छाता संस्था मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर, मकवानपुर निर्माण व्यवसायी संघ, नारायणी यातायात व्यवसायी संघलगायत संघसंस्थाको अगुवाईमा बैंकब्याज चर्किएको बिरोधमा चरणबद्ध आन्दोलन घोषणा गरेर सडकमा उत्रिएका छन् । पक्कै पनि यो अवस्था आउनु आफैंमा ठीक होइन । बैंकले लगानी गरेर व्यवसायीले पनि केही आर्जन गर्ने वातावरण बन्नुपर्छ ।

व्यवसाय राम्रो सञ्चालन हुने वातावरण बनाएर सहज ढंगबाट बैंकको किस्ता असुल गर्नु बैंकको पनि कर्तव्य हो । आफूले प्रवाह गरेर ऋणबाट कुनैपनि व्यवसायी टाट पल्टियोस् भन्दा पनि सप्रियोस् भन्ने नै हुनुपर्ने हो । तर, आर्थिक मन्दीका कारण व्यवसाय राम्रो नहुँदा झन् ब्याज बढाएर व्यवसायीको ढाड सेक्ने बैंकको कार्य किमार्थ राम्रो होइन । बैंकले ऋण प्रवाह नगर्दा बजारमा तरलताको अभाव छ । यसबीचमा बैंकहरुले भने राम्रो मुनाफा आर्जन गरिरहेकै छन् । तर, व्यवसायीहरु भने किस्ता तिर्न नसकेर छट्पटिइरहेका छन् । यस्तो अवस्थाबाट छुट्कारा दिलाउनु राज्यको दायित्व हो । आर्थिक मन्दीको कारण पत्ता लगाएर त्यसको सही निराकरण गर्नु सरकारले तदारुकता दिनु पर्दछ । यससंगै बैंकको ब्याजलाई पुनर्बिचार गरेर समयअनुसार घटाएर लागू गर्न राष्ट्रबैंकले सक्रियता देखाउनुको विकल्प छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*