विद्यालय तहमा कपाल स्वरुपमा एकरुपता आवश्यक
मानिसको सुन्दरतामा कपालको पनि विशेष महत्व हुन्छ । स्वस्थ्य चम्किलो कपालले व्यक्तित्वमा थप निखार ल्याउँछ । कपाल नरम र चम्किलो बनाउने चाहना सबैको हुन्छ । त्यसको लागि कपालको सरसफाईमा विशेष ध्यान दिनु पर्दछ । कपाल मानिसहरुले आफ्नो इच्छा र चाहना अनुसार लामो पाल्ने वा छोटो बनाएर काट्ने गर्दछन् । तर, नेपाली समाजमा कपाल हेरेर व्यक्तिहरुको आचरणबारे सहजै अनुमान लगाउने गरेको पाइन्छ । जस्तै, कपाल लामो पाल्नेहरु ‘खराब’ मनोवृत्तिका हुन्छन् भने छोटो कपाल राख्नेहरु ‘असल’ चरित्रका हुन्छन् भन्ने गरेको पाइन्छ ।
अपराध हुनु र नहुनुसंग कपालको लम्बाईले पक्कै असर गर्ने होइन । तर, नेपालमा अपराध गर्ने धेरैजस्तो व्यक्तिहरुको कपाल लामो हुने, फोहोर हुने, स्याहार नगरेको पाइने गरेको बताइन्छ । प्रहरी अनुसन्धानहरुमा अभियुक्त भनिएका व्यक्तिहरुको हुलिया पनि प्रायः त्यस्तै प्रकारको बढी पाइने गरेको छ ।कपाल मानिसको सौन्दर्यसंग जोडिएको विषय पनि हो । शरीर र अनुहारको आकारप्रकारसंग मिल्दोजुल्दो शैलीमा कपाल काट्ने हो भने मानिसलाई सभ्य देखिन्छ । तर, भद्दा शैलीमा काटिएको कपालले न व्यक्तिलाई राम्रो देखिन्छ नत उस्को व्यक्तित्व नै उत्कृष्ट झल्किन्छ । विद्यालय जीवनमा न त झन् कपालको हेरचाह अत्यन्तै महत्वपूर्ण हुन्छ । कपाल स्वच्छ राख्न छोटो कपाल सजिलो हुन्छ ।
छोटो कपालको सफाई छिटोछरितो गर्न सकिन्छ । त्यसले विद्यार्थीको पढ्ने समय बचत हुन्छ । एकै प्रकारको कपालको स्वरुप बनाउन सके विद्यार्थीबीच कपाल सौन्दर्य प्रदर्शनमा पनि एकरुपता आउँछ । कपालकै कारण विद्यार्थीबीच प्रतिस्पर्धा हुँदैन । त्यसैले विद्यालय तहमा विद्यार्थीहरुको कपाल छोटो र कोरेर चिटिक्क पार्नुपर्ने नियम राख्दा उचित हुने देखिन्छ । केही दिनअघि मकवानपुरको भीमफेदी गाउँपालिकास्थित महेन्द्र माविमा अध्ययनरत् विद्यार्थीबीच झैझगडा भएको भन्दै ३५ जना विद्यार्थीको कपाल काटिदिएको खबर बाहिरिएको छ ।
सजायस्वरुप कपाल काटिएको यो नौलो घटना हो । यद्यपि, यसले नयाँ सन्देश पनि दिएको छ । कसैको इच्छाविपरित कपाल काट्नु मिल्दैनथ्यो होला तर, विद्यार्थीहरुले विभिन्न शैलीमा कपाल पालेर विद्यालय जानु पनि शोभनीय कार्य होइन भन्ने पनि बुझ्नु पर्दछ । त्यसैले सबै विद्यालयमा कपाल एकै स्वरुपमा काट्नुपर्ने नियम लगाउनु पर्दछ ।






