गाउँपालिकाले मनहरी क्याम्पसलाई १५ लाख दिने

साझाकुरा
२०७९ पुष २०, बुधबार ०९:३९

हेटौंडा- जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा रहेको मनहरी बहुमुखी क्याम्पसलाई स्थानीय सरकारले आर्थिक सहायता गर्ने भएको छ ।आर्थिक समस्याका कारण अध्यापन गराउनै मुस्किल परेको मनहरी बहुमुखी क्याम्पसलाई मनहरी गाउँपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो । क्याम्पसले केही समयअघि शिक्षकहरुलाई तलब खुवाउन नसकेर पठनपाठन नै रोक्नुपर्ने बाध्यता परेको थियो । जसकारण गाउँपालिकाले तलब भत्ता व्यवस्थापनका लागि भन्दै १५ लाख रुपैयाँ दिने कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

जनतासँग अध्यक्ष विकास कार्यक्रमबाट सातलाख ५० हजार र जनतासँग उपाध्यक्ष विकास कार्यक्रमबाट सातलाख ५० हजार गरी हाललाई १५ लाख रुपैयाँ उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिएका छन् ।क्याम्पस प्रशासनका अनुसार शिक्षक र कर्मचारीको गरेर तलब भत्ता तथा अन्य खर्चहरु गरी २० लाख रुपैयाँ आवश्यक छ । नियमित पठनपाठन गराउन २० लाख रुपैयाँ जोहो गर्न क्याम्पस प्रशासन लागेको हो ।

क्याम्पस सञ्चालक समितिले आगामी २३ पुसमा क्याम्पससभा बोलाएको छ । सभाले अध्यक्षसहित अन्य सञ्चालक सदस्यहरुको चयन गर्नेछ । क्याम्पसलाई व्यवस्थापनमा कमजोर बनाउन सञ्चालक समिति नै दोषी रहेको अभिभावकहरुले आरोप लगाउँदै आएका छन् । सञ्चालक समितिले क्याम्पसको भविष्यबारे धेरै चासो नदिएको अभिभावकहरुको गुनासो छ ।

हटाइएका बालमैत्री सहजकर्ता राख्नेनेपालकै पहिलो बालमैत्री गाउँपालिका रहेको मनहरीले यसअघि हटाइएका बालमैत्री सहजकर्तालाई पुनः काममा राख्ने तयारी गरेको छ ।करिब एक वर्षअघि तत्कालीन गाउँपालिका नेतृत्वले पालिकाको आन्तरिक स्रोत कमजोर बनेको भन्दै बालमैत्री सहजकर्ता हटाएको थियो । बालमैत्री सहजकर्ताहरुले निरन्तर आन्दोलन गरेपनि गाउँपालिकाले गुनासो सम्बोधन गरेको थिएन । ज्यालादारी काममा लागिरहेका ९ वटै वडाका बालमैत्री सहजकर्ताहरु हटाएको थियो ।

वर्तमान गाउँपालिका नेतृत्वले भने तत्कालका लागि २ जना बालमैत्री सहजकर्तालाई भर्ना गर्न लागेको हो । गाउँपालिकाले कार्यपालिका बैठकबाट बालमैत्री सहजकर्ता भर्नाका लागि निर्णय गरेको छ । गाउँपालिकाले बालमैत्री सहजकर्ता ९ वटै वडामा तत्काल नराख्ने भएको छ । साविक हाँडीखोला र मनहरी गाविस हेर्ने गरी सहजकर्ताको पुनः भर्ना लिन लागिएको गाउँपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*