नक्कली स्टिकर टाँसेर गुड्न थाले अटो, मयुरी
हेटौंडा- हेटौंडामा हेटौंडा उपमहानगरपालिकाबाट जारी स्टिकर टाँस नगरी प्रतिबन्धित क्षेत्रमा र नक्कली स्टिकर टाँस गरेर गुडेका अटो कारबाहीमा परेका छन् ।मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिकाको निषेधित वडा क्षेत्रमा स्टिकर टाँस नगरी तिनपाङ्ग्रे सवारी साधन (अटो, मयुरी) चलाएको पाईएकोले ५७ वटा अटो तथ तथा मयुरीलाई कारबाही गरिएको हो । एउटा अटो र एउटा मयुरीले नक्कली स्टिकरको प्रयोग गरी चलाएको पाइएकोले आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
ट्राफिक कार्यालयले आगामी दिनमा स्टिकर टाँस नगरेका अटो, मयुरी हेटौंडाको निषेधित वडा क्षेत्रमा नचलाउन अनुरोध गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाले बजारको सडक क्षमता भन्दा बढी अटो, मयुरी भएकाले दुर्घटनाको जोखिम र ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको भन्दै गत साउनमा स्टिकर टाँस्न सुरु गरेको थियो । अब हरियो स्टिकर भएका अटो र मयुरीमात्रै हेटौंडा नगरभित्र सञ्चालन हुन पाउने छन् । बजारको सवारीचाप व्यवस्थापन गर्न उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालन अनुमति प्राप्त अटो,मयुरीलाई मात्र सञ्चालन अनुमति सहितको स्टिकर प्रदान गरेको हो ।
७ पुस २०७६ सालदेखि हेटौंडा उपमहानगर क्षेत्रमा थप तीन पाङ्ग्रे सवारीसाधन दर्ता अनुमति नदिने निर्णय गरेको थियो । उपमहानगरले यातायात कार्यालयलाई थप अटो र मयुरीलाई रुटपरमिट नदिन परिपत्र गरेको हो । सोही परिपत्रलाई टेकेर २०७६ सालअघि अनुमति पाएका अटो र मयुरीहरुलाई मात्रै सञ्चालनको अनुमति दिइने भन्दै स्टिकर टाँसिएको हो ।
तर, उपमहानगरले रुट परमिट नदिन यातयातलाई पत्र लेखे पनि व्यवसायीहरुले मकवानपुर जिल्लाभरको परमिट बनाएर सञ्चालन गरिरहेका छन् । कतिपय व्यवसायीहरुले बारा र पर्साको रुट परमिट लिएर अटो खरिद गरेपछि पुनः प्रतिलिपिपरमिट बनाउँदा सेटिङमा मकवानपुरको परमिट पनि थप गर्न लगाएको जनाइएको छ ।







