करारका कर्मचारीको म्याद थपिएन
हेटौंडा, १८ माघ÷ हेटौंडा उपमहानगरपालिकाले करारमा कार्यरत् ७१ जना कर्मचारीको म्याद नथप्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले करार कमर्चारीलाई म्याद नथप्ने निर्णय गरेसँगै उनीहरुको जागिर गएको छ । यसअघि पुस मसान्तसम्म म्याद राखेर कर्मचारीहरुहरुलाई राखिएको थियो । करारका कर्मचारीहरुको पुस मसान्तसम्मको म्याद नथप्ने निर्णय भएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
उपमहानगरपालिकामा चौथो तह, पाँचौ तह र छैटो तहसम्मका ७१ जना कर्मचारी करारमा कार्यरत् थिए । प्रवक्ता न्यौपानेका अनुसार दरबन्दी अनुसार पदमा अपुग भई तत्कालको लागि कार्यालयलाई आवश्यक जनशक्ति करारमा नियुक्त गरिएको थियो । ती पदहरुमा लोकसेवाबाट धमाधम कर्मचारी पठाइएपछि उनीहरुको म्याद नथपिएको उनले बताए ।
‘कम्प्युटर अपरेटर, स्वास्थ्य, प्रशासन, प्राविधिक कर्मचारीको पुस मसान्तपछि म्याद थप नगरिएको हो,’ न्यौपानेले भने । हटाइएका कर्मचारीहरुलाई करारमा नियुक्ति गर्दा परीक्षाको सामान्य प्रक्रिया पनि पूरा नगएिको र तोक आदेशका भरमा जागिर खाएकाले हटाइएको १ नम्बर वडा अध्यक्षसमेत रहेका प्रवक्ता न्यौपानेले बताए । जिल्लाका बागमती, मकवानपुरगढी लगायत स्थानीय तहले पनि करारका कर्मचारी यसअघि हटाएका थिए ।







