गर्माउँदै २५ मिटर सडकसीमा

साझाकुरा
२०८० बैशाख २६, मंगलवार १०:०४

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हेटौंडाको मुख्य सडक दायाँबायाँ २५–२५ मिटर विस्तार अनिवार्य भएको बताएका छन् । आइतबार हेटौंडा आएका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै बागमती प्रदेशको राजधानी भएकाले बजारको मुख्य सडक साँघुरो भएको र मापदण्डअनुरुप विस्तार गर्नुपर्ने बताएका हुन् । भट्टराई प्रधानमन्त्री भएका बेला काठमाडौंमा सडक विस्तार गरेकाले उनको हाल पनि चर्चा भइरहन्छ । काठमाडौं जस्तो साँघुरो बस्तीमा सडक अतिक्रमण गरी बनाइएको घर÷टहरा भत्काएर उनले सडक विस्तार गरेपछि कोटेश्वरदेखि ललितपुरको सातदोबाटो हुँदै कलंकीसम्म फराकिलो सडक बनेको छ । जनघनत्व निरन्तर वृद्धि भएसँगै सडक मापदण्डअनुसार विस्तार हुनुपर्ने डा. भट्टराईको धारणा छ । ‘२५–२५ मिटर सडक विस्तार मापदण्ड अनुरुप नै हुनुपर्छ ।

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा सडक विस्तार अनिवार्य भएको छ,’ उनले भने । डा. भट्टराईले सडक विस्तारका लागि कसैले पनि कुनै बाधा अवरोध नगरी सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । हेटौंडामा विगत दुई दशकदेखि सडक विस्तारको चर्चा सुरु भएता पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । हाल हेटौंडा उपमहानगरकी मेयर मीनाकुमारी लामा सडक विस्तार कुनै हालतमा गर्नुपर्ने अडानका साथ लागिपरेकाले यस विषयले फेरि चर्चा पाएको छ । नगरपालिकाले बजार क्षेत्रको मुख्य सडक दायाँबायाँ २५–२५ मिटर विस्तारका लागि हाल अतिक्रमित संरचना हटाउने र फुटपाथ व्यवस्थापन गर्ने कार्य गर्न सुरु गरेको छ । हेटौंडाको मुख्य बजार क्षेत्र भत्काउन सुरु गर्दा ६ वर्षअघि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । तत्कालीन झडपमा ८ प्रहरी र ६ प्रदर्शनकारी घाइते भएका थिए ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । डिभिजन सडक कार्यालय हेटौंडाले सडक बिस्तारका क्रममा डोजरले पेटी भत्काउन थालेपछि स्थानीयले आक्रमण गरेका थिए । स्थानीयले प्रहरीमाथि ढुंगा, भाला तथा तरवारले आक्रमण गरेका थिए । हेटौंडाको राप्तिरोड, मेनरोड, कान्तिलोकपथ र त्रिभुवन राजपथ क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । आन्दोलनकारीले मुख्य बजारमा टायर बालेर बिरोध जनाएका थिए ।

आन्दोलनकारीले प्रहरीलाई घरको छतबाट ढुंगाले हानेका थिए । सडक बिस्तारको क्रममा आफ्ना निजी जमीनको क्षतिपूर्ति तथा मुआब्जा नदिएर भौतिक संरचना भत्काउन लागेको विरोधमा हेटौंडा बसोबास संरक्षण समिति, मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा स्थानीय आन्दोलित भएका थिए । डिभिजन सडक कार्यालयले भत्काउनका लागि हेटौंडा बजार क्षेत्रका ७ सय घरमा मार्किङ गरिसकेको थियो । हेटौंडाको सडक चौडा बनाउने कार्यमा स्थानीयकै अवरोध छ । कहिले १६ मिटर भत्काउन सहमति दिने, कहिले मानवबस्ती घोषणा गर्न माग गर्ने जस्ता कार्य बिगतमा भएका छन् । त्यसैले हेटौंडा बजार क्षेत्रको सडक भत्काउने बिषयमा भाषण गर्न जति सहज छ काम गर्न त्यत्तिकै चुनौती पनि देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*