२५ मिटरबारे साझा अवधारणा खोई ?
नेपालको राष्ट्रिय राजमार्गको क्षेत्रका लागि सबैभन्दा ठूला दाता मानिने एसियाली विकास बैंक र वर्ड बैंकका प्रतिनिधिले हेटौंडा–नारायणगढ र हेटौंडा–पथलैया खण्डको सडक फराकिलो बनाउन नेपाल सरकालाई ताकेता गरिरहेका छन् । हेटौंडालाई मानव बस्ती घोषणा गर्नुपर्ने, मुख्य सडकको दायाँबायाँ १६ मिटरमात्र खाली गराउने, सडकको नक्सांकन नै परिवर्तन गरी बाइपास सडक बनाउने, आदि तर्कबितर्कमा हेटौंडाबासील समय गुजारीरहेका छन् ।
नेपालको संविधान २०७२ ले ब्यक्तिगत सम्पत्तीमा राज्यले त्यत्तिकै हडप्न मिल्दैन भनेको छ । सडक चौडा बनाउने अभियानमा पनि साथ दिने र हेटौंडाबासीको घरटहरा तथा जमीनको मुआब्जा पनि उपलब्ध गराउने वातावरण तयार गर्नु जरुरी छ । नेपालको पूर्वपश्चिम राजमार्ग एसियन हाइवेको ‘ख’ बर्गको रुट हो । जुन हाइवेले एसियाका ३७ देशलाई सडक संजालमा जोडेको छ । हेटौंडाको मुख्य बजार क्षेत्रको सडक २५–२५ मिटर दायाँबायाँ विस्तारको चर्चाले बजार तातिएको छ ।
हेटौंडा उपमहानगरकी नगरप्रमुख मीनाकुमारी लामाले जसरी पनि हेटौंडाको सडक दायाँबायाँ २५–२५ मिटर भत्काएर छाड्ने अडान लिइरहेको अवस्था छ । नगरको विकासको सन्दर्भमा बहुसरोकारवाला निकायबीचको अन्र्तक्रियामा मेयर लामाले मुख्य सडक ५० मिटर फराकिलो बनाइछाड्ने घोषण गरकी छन् । राष्ट्रिय राजमार्गको दायाँबायाँ २५–२५ मिटर भत्काएरै छाड्ने नगरप्रमुख लामाको जस्तै अडान यसअघिका नगरप्रमुख हरिबोल महतले पनि देखाएको थिए ।
एकाथरिका मान्छे भत्काउने अभियानमा लाग्ने अर्काथरिका मान्छे राजमार्गमै लम्पसार परेर रोक्ने बिगतमा भएकै हो । यो कार्यका लागि केन्द्र सरकार र प्रदेश सरकारको सहयोग हुनुपर्छ । हेटौंडा–१ चौकीटोलदेखि हेटौंडा–९ को त्रिवेणीधाम हुँदै चुरियामाई (रातोमाटे) निस्कने बाइपास सडकमा निर्माण भइरहेको छ । पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्र्तगत् हेटौंडा बजार क्षेत्रमा पर्ने सडकको दायाँ÷बायाँ २५÷२५ मिटर विस्तारकोे विषयले चर्चा मात्रै पाइरहने र काम नहुने भएकाले नगरबासी नै हैरान भएका छन् । मेनरोडका घरधनीलाई आफ्नो टाउकोमा ठूलो जाँतो झुण्डाइदिएझै भएको छ ।
रातमा निन्द्रा न दिनमा भोकको अवस्था सृजना भएको छ । डिभिजन सडकले अतिक्रमण गरेको भनिएको जमीन ब्यक्तिको नाममा लालपूर्जा छ र उनीहरुले सरकालाई नियमित कर तिरिरहेका छन् । ६ वर्ष अघि पनि हेटौंडाको मेनरोडका ब्यवसायीले भित्री सडकमा ब्यवसाय गर्न सटर भाडामा लिएको अवस्था थियो । तर, त्यतिबेला
राजमार्ग बिस्तारको अभियानमा ब्रेक लागेपछि ब्यवसायीले बुक गरेका सटर फिर्ता गरेका हुन् ।
मेनरोडका २५ मिटर क्षेत्रमा पर्ने घरमा भाडा तिरेर बसेका बैंक तथा बित्तीय संस्थाहरुले भने मेनरोडका घर खाली गरेर भित्री सडकमा सुरक्षित भइसकेका छन् । हेटौंडा बागमती प्रदेशको राजधानी भएपछि बजार क्षेत्रको मुख्य सडक फराकिलो पार्नुको विकल्प नभएको नेताहरु नै बताउँदै आएका छन् । सडक डिभिजन कार्यालय हेटौंडाले पटक–पटक सडक विस्तारको सूचना निकालेर घरधनीलाई त्रसित मात्र बनायो ।






