हेटौंडामा काठ बोकेको शंकास्पद चारवटा ट्रक कहाँबाट आयो ?
हेटौंडा-हेटौंडामा बिहीवार साँझ काठ बोकेको शकांस्पद चारवटा ट्रकललाई नियन्त्रणमा लिइएको छ ।हेटौंडा उपमहानगरपालिका–११, स्थित थानाभ¥याङमा साँझ ७ बजेको समयमा चिरान काठ बोकेको चारवटा ट्रकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ । थानाभ¥याङका स्थानीय युवा र जनता समाजवादी पार्टी (जसपा) मकवानपुरका नेता, कार्यकर्ताले काठ बोकेको ट्रक नियन्त्रणमा लिएका हुन् । काठ बोकेको ट्रक बुधवार साँझ पनि हेटौंडाबाटै नियन्त्रणमा लिइएको थियो ।
बुधवार समातेको एउटा ट्रक आवश्यक कारबाहीका लागि भन्दै प्रहरीले जिल्ला वन कार्यालय मकवानपुरलाई जिम्मा लगाए पनि उक्त ट्रक बिहीवार साँझ फेरि समातिएको पाइएको छ ।बिहीवार भने एउटा मात्र नभई थप ३ वटासहित कुल चारवटा ट्रकलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइएको जसपा मकवानपुरका अध्यक्ष सोमबहादुर घलानले जानकारी दिए । मकवानपुरका प्रहरी नायवउपरीक्षक टेकबहादुर कार्कीकाअनुसार बुधवार हेटौंडा–१८ ठूलदमारमा स्थानीयले नियन्त्रणमा लिएर एउटा शंकास्पद ट्रक प्रहरीलाई जिम्मा लगाएका थिए । उक्त ट्रकलाई वन कार्यालय पठाइएको र सोही ट्रक फेरि बिहीवार साँझ हेटौंडाबाटै नियन्त्रणमा लिएर प्रहरीको जिम्मामा आएको डिएसपी कार्कीले जानकारी दिए ।
नियन्त्रणमा आएका ट्रकको नम्बर भने खुल्न सकेको छैन । बुधवार र बिहीवार नै स्थानीयले काठ बोकेको ट्रक नियन्त्रणमा लिइरहँदा चोकचोकमा बसेका प्रहरीको काम, कर्तव्यमाथि प्रश्न उठेको छ । वन कार्यालयले शंकास्पद ट्रकलाई किन छोडेको भन्ने विषय खुल्न सकेन । घटनाबारे जानकारी लिन बिहीवार अबेर साझाकुराले सहायक वन अधिकृत बसन्त गौतमलाई सम्पर्क गर्दा उनले जानकारीमा नभएको बताए । गौतमले आफूलाई काठसहित ट्रक समातिएको विषयमा जानकारी नभएको बताए ।
साझाकुराले जिल्ला वन अधिकृत शिव सापकोटा र कार्यालयका सूचना अधिकारी दिपक अधिकारीलाई सम्पर्क गरेको थियो । तर, उनीहरु दुवै जनासँग सम्पर्क हुन सकेन । घटनाबारे प्रहरी पनि बेखबर छ । डिएसपी कार्कीले बकैयाबाट काठमाडौंका लागि हिँडेको काठ बोकेको ट्रक हेटौंडामा स्थानीयले नियन्त्रणमा लिएपछि प्रहरी कार्यालय परिसरमा सुरक्षा दिएर राखिएको जानकारी दिए । तर, थप जानकारी वन कार्यालयबाटै लिन उनले साझाकुरालाई सुझाए । जानकारीअनुसार बकैया गाउँपालिका–६, स्थित वनमा ६ वर्षअघि कटान गरिएको काठ श्रेष्ठ थर गरेका एक जना ठेकेदारले लोड गरेर ल्याएका हुन् ।
स्रोतका जनकारी अनुसार तत्कालीन समयमा जिल्ला वनको कटानआदेशबिनै काठ काटिएको हुन सक्ने र अदालतमा मुद्दा परेपछि काम रोकिएको थियो । ‘मुद्दा त्यसै परेन । की तोकिएको भन्दा बढी काठ काटिएको हुनुपर्छ की कटान आदेश नै नभई मिलोमतोमा काटिएको थियो । ६ वर्षअघि काटिएको काठ एक जना ठेकदारले ल्याएको चर्चा सुनिएको छ । वन कार्यालयले पनि स्पष्ट जानकारी दिइसकेको छैन ।’, स्रोत भन्छ । स्रोतकाअनुसार अदालतबाट वन सम्बन्धी मुद्दाको अन्तिम फैसला नै नभइसकेको अवस्थामा काट उठाइएको विषय कानुनसम्वत देखिदैन ।
‘जिल्ला वनका अनुसार मुद्दा टुंगिएको छैन भन्ने सुनेका छौं । तर, काठ पहिल्यै उठेको छ । घटना क्रम हेर्दा ठूलै सेटिङमा काठ आएको देखिन्छ । अझै थुप्रै ट्रक काठ लोड हुँदै गरेको थाहा पाएका छौं ।’, समाचार स्रोतले भनेको छ । बुधवार समातिएको काठसहितको ट्रक जिल्ला वनले विस्तृत अनुसन्धान नै नगरी छोडेको बताइएको छ । बिहीवार साँझ ट्रक नियन्त्रणमा लिइएको थानाभ¥याङमा वन कार्यालयबाट आएका प्रतिनिधिले अदालतबाट आदेश आएपछि काठ उठाइएको प्रतिक्रिया दिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । वनका कर्मचारी र प्रहरीले काठ बोकेको ट्रक छोड्न स्थानीयलाई दबाब दिएको खुलेको छ ।
तर, घटना संघीय वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतोसम्म पुगेपछि वनका कर्मचारी र प्रहरी हच्किएका थिए । ‘वनका कर्मचारी र प्रहरीले हामीलाई ट्रक छोड्न दबाब दिनु भएको थियो । झडपकै स्थिति बनेको थियो । घटनास्थलबाटै वनमन्त्रीलाई जानकारी गराएपछि वन र प्रहरीले ट्रक राख्ने भएका थिए । जसकारण प्रहरीले सुरक्षा दिएको छ ।,’ प्रत्यक्षदर्शीले साझाकुरासँग भने ।
वनमन्त्री महतोले घटना शंकास्पद देखिएपछि आज शुक्रबार हेटौंडा आउन सक्ने जानकारी दिएको जनाइएको छ । तर, उनी हेटौंडा आउँछन् वा आउँदैनन् भन्ने विषय अन्यौल छ । यो लटमा १७ वटा ट्रकमा काठ लोड भएको स्रोतको दाबी छ ।







