भलिबलमा मकवानपुर र धादिङलाई उपाधि

साझाकुरा
२०८३ असार ९, मंगलवार १२:४९

हेटौंडा-तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत् भलिबलतर्फ पुरुषमा मकवानपुर र महिलामा धादिङ च्याम्पियन बनेका छन् । काठमाडौँस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलमा मकवानपुरले चितवनलाई ३–२ सेटमा हराउँदै पुरुषतर्फ उपाधि जितेको हो ।फाइनलमा मकवानपुरले प्रतिस्पर्धात्मक खेलमा चितवनलाई पराजित गरेको थियो । उपाधिसँगै मकवानपुरका खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उपविजेता चितवनका खेलाडीले जनही ४ हजार रुपैयाँ पाए । तेस्रो स्थान हासिल गरेका भक्तपुर र धादिङका खेलाडीले जनही ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

पुरुष भलिबलमा मकवानपुरका निरोज मगर उत्कृष्ट लिबेरो, पुकार गुरुङ उत्कृष्ट लिफ्टर र कमलप्रसाद बिष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । चितवनका रियोन कार्की उत्कृष्ट स्पाइकर र नवीन महतो उत्कृष्ट सर्भर तथा धादिङका प्रदीप गोले उत्कृष्ट मिडल ब्लकर चुनिए ।महिलातर्फ धादिङले दोलखालाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्यो । महिलातर्फ रामेछाप तेस्रो भयो । धादिङकी रमिला गुरुङ उत्कृष्ट स्पाइकर, भावना तामाङ उत्कृष्ट सेटर, जानुका गुरुङ उत्कृष्ट लिबेरो र विमला लामा उत्कृष्ट प्रशिक्षक घोषित भए ।

रामेछापकी सपना श्रेष्ठ उत्कृष्ट मिडल ब्लकर बनिन् । यसैगरी टेबलटेनिस र बुद्धिचालमा ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ । टेबलटेनिसमा भक्तपुर दोस्रो र काठमाडौँ तेस्रो भए । बुद्धिचालमा ललितपुरले ७ स्वर्ण जित्दै शीर्षस्थान कब्जा ग¥यो । चितवन दोस्रो र काठमाडौँ तेस्रोस्थानमा रहे । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*