हेटौंडा कपडा उद्योग संचालन ?
चीन सरकारको सहयोगमा बनेको हेटौंडा कपडा उद्योगको महत्व त्यतिबेलासम्म थियो, जतिबेला सुती कपडाको माग उच्च थियो । सम्भवत दक्षिण एसियामै सबैभन्दा गुणस्तरीय सुती कपडा उत्पादन हेटौंडामै हुने गरेको थियो । कपडाको गुणस्तर अनुसार माग पनि राम्रै थियो । २०४६ सालको राजनीतिक परिबर्तन पछिका दिनमा खेतमा बाली उत्पादन गरेर खानेको भन्दा खेतै खानेको बाहुल्यता बढ्दै गयो । फलस्वरुप कपडा उद्योग फल खाने भन्दा खेत खानेको जीत भयो । झण्डै २४ वर्षदेखि बन्द रहेको हेटौंडाको कपडा उद्योगमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले पुन संचालन गर्ने मनसाय ब्यक्त गरिरहेका छन् । मौजुदा अवस्थामा हेटौंडा कपडा उद्योग नचल्ने थुप्रै कारणहरु छन् । भारतीय सीमावर्ती बजारबाट खुला रुपमा भन्सार छलेर भित्रने कपडासँग हेटौंडा कपडा उद्योगको उत्पादनले प्रतिष्पर्धा गर्न सक्दैन ।
५० वर्षअघिको प्रबिधिमा अहिले उत्पादन गर्दा प्रभावकारी उत्पादन हुन सक्दैन । हेटौंडा कपडा उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ नेपालमा उत्पादन हुँदैन र भारतीय मुलुकबाट कच्चापदार्थ किनेर ल्याएर उत्पादन गरिएको कपडाको प्रतिइकाई लागत अवश्य बढी हुन्छ । सरकारी स्वामित्वमा उद्योग संचालन गर्दा अत्यधिक भ्रष्ट्राचार हुने निश्चित छ । चरम भ्रष्ट्राचारको शिकार बन्ने उद्योगले बजारसँग प्रतिष्पर्धा गर्नै सक्दैन । त्यसैले हेटौंडा कपडा उद्योग मौजुदा परिस्थितिमा संचालन गर्ने भनेको भ्रष्ट्राचारी अखडा थप गर्ने मात्र हो ।
चीन सरकारको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग २४ वर्षदेखि बन्द छ । २०३२ सालमा निर्माण भएको उद्योग २०४६ को राजनीतिक परिवर्तन पछि लगातार घाटामा गएको र २०५७ फागुन १ बाट बन्दै भयो । सरकार परिवर्तनसँगै उद्योग सञ्चालन गर्ने वा उत्पादन बन्द गरेर सम्पत्ति बाँडफाँट (लिक्विडेसन) को प्रक्रियामा जाने भन्नेबारे अन्योल हुँदै आएको छ । २२ वर्षसम्म सञ्चालन भएको उद्योग पूर्णरुपमा बन्द हुन पुगेको पनि २४ वर्ष भयो । विभिन्न समयमा उद्योग सञ्चालन गर्ने भन्दै सरकारले बजेट विनियोजन गरे पनि उद्योगमा रहेका पुराना मेसिन मर्मत र कच्चापदार्थको अभावमा रोकिँदै आएको छ ।
यस अघि पनि मेसिन मर्मतको नाममा ७ करोड रुपैयाँ पानीमा गएको छ । त्यसको लेखाजोखा कसैसँग छैन । पछिल्लो पटक सुरक्षा निकायको पोशाक उत्पादन गर्नेगरी नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको लगानीमा उद्योग सञ्चालन गर्ने तयारी भए पनि प्रक्रिया अघि बढ्न सकेको छैन । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री चित्रकारले उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालन गर्ने बताए पनि सहज भने देखिँदैन । उद्योगमा ४ सय ८६ वटा कपडा बुन्ने तान र १४ हजार ६ सय ८८ वटा स्पिन्डल छन् ।
हाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगको रेखदेख गरिरहेको छ । उद्योगका धेरै मेसिन अहिले पनि चलाउन सकिने अवस्थामा रहेको विभिन्न अध्ययनले देखाएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उद्योगको वार्षिक क्षमता २ हजार ३ सय मेट्रिकटन धागो, २ करोड ५० लाख मिटर कपडा तथा दिनमै ३६ हजार मिटर कपडा उत्पादन गर्न सक्ने थियो । तत्कालीन समयमा स्वदेशमा उत्पादन भएको कपास प्रयोग गर्दै उद्योगले मुलुकलाई सुती कपडामा आत्मनिर्भरसमेत बनाएको थियो ।
उद्योग पूर्णरुपमा सञ्चालन हुँदा करिब १२ सय कर्मचारीले एकै छानामुनी रोजगारी समेत पाएका थिए । २०६६ कात्तिकमा उद्योगलाई दोस्रो पटक लिक्विडेसनमा लैजाने प्रक्रिया अगाडि बढाइएको थियो । २०६९ माघ १२ को मन्त्रिपरिषद् बैठकले उद्योगको सम्पत्ति सेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभ्ने निर्णय गरेको थियो । हेटौंडा औद्योगिक क्षेत्रभित्र २ सय ३६ रोपनी जग्गामा कपडा उद्योग र २ सय ५६ रोपनी जग्गामा आवास रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । उद्योगमा हाल सशस्त्र प्रहरी बलको गण नम्बर १४ को कार्यालय छ । जहाँ ३ सयभन्दा बढी सुरक्षाकर्मी बसिरहेका छन् ।






