बागमतीमा सत्तापक्ष र प्रतिपक्ष मिलाउन सभामुख सक्रिय
हेटौंडा- बागमती प्रदेशमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीचको विवाद समाधानमा सभामुख भुवनकुमार पाठक सक्रिय भएका छन् ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट पास हुनुअघि सरकारले गरेको सहमति पूर्ण कार्यान्वयन हुनुपर्ने अडान राख्दै प्रदेशसभा सञ्चालनमा चेतावनी दिँदै आएको छ । एमालेको अवरोधका कारण प्रदेशसभा सञ्चालनमा समस्या देखेपछि सभामुख पाठकले सरकार र प्रतिपक्ष मिलाउन सर्वदलीय बैठक राखेका छन् ।
यसअघि १८ भदौमा प्रदेशसभा बैठक आह्वान गरिए पनि एमालेले अवरोध गर्ने चेतावनी दिएपछि सूचना टाँसेर बैठक स्थगित भएको जानकारीगराइएको थियो । २१ भदौमा बैठक हुने भनिएपछि एमाले र सत्तापक्ष बीचको वार्ता सहमित हुन सकेको थिएन ।
प्रदेशसभाको गतिरोध अन्त्य गराउन सभामुख पाठक सक्रिय भएसँगै आज आइतबार सर्वदलीय बैठक बोलाइएको हो । दुई महिनापछि भदौ १८ गते बोलाइएको प्रदेशसभा बैठक एमालेसहितका विपक्षी दलको चेतावनीपछि भदौ २४ गते आइतबारका लागि बोलाइएको छ । तर, आइतबारको बैठक पनि सञ्चालन हुने अवस्था नदेखेपछि सभामुख पाठकले सत्तापक्ष र प्रतिपक्ष बीच सहमतिका लागि सर्वदलीय बैठक बोलाइएको स्रोतको दाबी छ ।
सभामुख पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् । सभामुख पाठकले लामो समयपछि बस्न लागेको बैठक निरन्तर सञ्चालन हुन नसके गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागि सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।उनले आइतबारको सर्वदलीय बैठकबाट सहमति जुट्न सकेको अवस्थामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सञ्चालन हुने बताए ।
चालू आर्थिक वर्ष ०८०÷८१ को बजेट पारित गर्दाको समयमा विपक्षी दलहरुसँग गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले दबाब दिइरहेका छन् ।
उनीहरुले सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बन्दै आएको छ । प्रतिपक्षी दलहरूले बजेट पास गर्दा भएको सहमति पालना गर्नुपर्ने भदौ १८ गते तय भएको सदनको बैठक अघि बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमै माग गरेका थिए ।







