१० हजार लिटरको ६५० तिर्ने बड्कुलेवासीलाई निःशुल्क खानेपानी

साझाकुरा
२०८० आश्विन १२, शुक्रबार ०९:२०

हेटौंडा-स्थानीयस्तरमा सञ्चालनमा रहेको खानेपानी आयोजनाबाट दैनिक जीवनयापनका लागि महंगो शुल्कमा पानीको प्रयोग गर्दै आएका हेटौंडा–१८ बड्कुलेका बासिन्दाले निःशुल्क खानेपानी पाउने भएका छन् ।२०५८ सालबाट सञ्चालन भएको मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत् खानेपानीको प्रयोग गर्दै आएका बड्कुलेका १०४ घाराका बासिन्दाले १० हजार लिटर पानीको प्रयोगबापत ६५० रुपैयाँ तिर्दै आएका थिए । कर्मचारी, विद्युत र मर्मत शुल्क गरेर खानेपानीको लागत महँगो पर्दै आएको थियो समितिका अध्यक्ष राजेन्द्र घलानले बताए । उनका अनुसार समितिले ४ हजार लिटर पानि उपभोग गरे वापत २५० रुपैयाँ न्यूनतम शुल्क लिदै आएका थियो ।

मंहगो शुल्कमा पानीको उपभोग गर्दै आएका स्थानीयलाई नियमित पानी दिन समितिलाई आर्थिक भारका कारण समस्या पर्दै गएपछि १८ नम्बर वडा कार्यालयमार्फत् खानेपानीको महशुल भुक्तान गरिएको थियो । महशुल भुक्तान गरेसँगै बिहीवार खानेपानी योजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । बोर्डलाई हस्तान्तरण गरेसँगै बड्कुले बासीले १० हजार लिटरसम्म पानी निःशुल्क पाएका छन् ।हेटौंडा उपमहानगरपालिकाले नगरक्षेत्रमा खानेपानी बोर्डमार्फत जडित धाराबाट पानीको उपभोग गर्नेलाई १० हजार लिटरसम्म पानी निःशुल्क उपलव्ध गराएसँगै उपनहरुले पानी निःशुल्क पाउने भएका छन् । तोकिए भन्दा बढी पानी उपभोग गरेमात्र महशुल लाग्ने बताइएको छ ।

बोर्डमा हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले नगरवासीलाई पानीको सुबिधाबाट बञ्चित नगराउने उद्देश्यअनुरुप काम भैरहेको बताइन् । सरकार भएको अनुभूति दिलाउँदै नागरिकलाई दायित्व बोध गराउदै जिम्मेवारी दिने तयारी अनुसार अघि बढिरहेको उनको भनाई थियो । नगरवासीले धारामा आएको पानी सोझै प्रयोग गर्ने वातावरण बनाउने तयारीमा रहेको भन्दै उनले खानेपानीको उचित व्यवस्थापनसँगै आर्थिक रुपमा कम्जोर भएपनि विकासको काममा जोड दिंदै अघि बढेको बताइन् ।

हर्नामाडि क्षेत्रमा उपभोक्ता समितिले सञ्चालन गरेको ३ वटा योजना बोर्डमा हस्तान्तरण भैसकेको छ भने अहिले २५ हजार घरधुरीले बोर्डमार्फत खानेपानीको प्रयोग गर्दै आएको बताइएको छ । मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति राजेन्द्र घलानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १८ का वडाअध्यक्ष अनिल बानियाँ, खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, हेटौंडा उपमहानगरपालिकाका बिज्ञ सल्लाहकार डाक्टर कृष्ण धिताल, बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रासद सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*