प्रहरी कार्यालयभित्रै महिला मृत्यु प्रकरण
हेटौंडा-बिरामी महिला बोकेर घरतर्फ गइरहेको एम्बुलेन्स रोकेका कारण प्रहरी परिसरमै महिलाको मृत्यु भएको घटनामा अनुसन्धान गर्न समिति गठन गरिएको छ ।जिल्ला प्रहरी कार्यालयले प्रहरी नायबउपरीक्षक लक्ष्मी भण्डारीको संयोजकत्वमा ५ सदस्यीय छानबीन समिति गठन गरेको हो । मकवानपुरका प्रहरीप्रमुख प्रहरीउपरीक्षक सीताराम रिजालले छानबीन समिति बनाएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । छानबीन समितिमा डिएसपी भण्डारीसहित बाँकी ४ जना प्रहरी कर्मचारीहरु सदस्य छन् । डिएसपी भण्डारीले घटनाको सत्यतथ्य छानबीनका लागि छानबीन समिति गठन गरिएको र अनुसन्धान सुरु भइसकेको जानकारी दिए । ‘घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेका छौं । अनुसन्धानबाट जो दोषि देखिए पनि कानुनी कारबाही हुन्छ ।’, उनले भने ।
हेटौंडामा आइतबार मध्यरात सडकमा एम्बुलेन्स रोकेर घुमुवा प्रहरी सहायक हबल्दार डिल्लीराम शिवाकोटीले बितण्डा मच्चाएको मृतक परिवारको आरोप छ । शिवाकोटीसँग सडकमा विवाद हुँदा प्रहरीले मृतक परिवारलाई हिरासतमा थुनेको र एम्बुलेन्सभित्रै अक्सिजन लगाइएको बिरामी महिलाको प्रहरी कार्यालय परिसरभित्रै मृत्यु भएको थियो । मृत्यु हुनेमा मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–१ घर भएकी मुटु रोगको बिरामी ५६ वर्षीया चिरमाया लो हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सहायक हवल्दार शिवाकोटीलाई निलम्बन गरेको हो । मृतक परिवारसँग आइतबार राति करिब १२ बजे हेटौंडा उपमहानगरपालिका–४, स्थित रानीदरबार अगाडि भएको विवादको क्रममा उनी घाइते भएका थिए । उनको चितवनमा उपचार भइरहेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरीउपरीक्षक दीपक रेग्मीले एम्बुलेन्स रोक्ने प्रहरी शिवाकोटीलाई निलम्बन गरेको जानकारी दिए । उनले निलम्बन गरेर घटनाको अनुसन्धन भइरहेको बताए । सहायक हबल्दार शिवाकोटीको उपचारपछि थप कारबाही प्रक्रिया अगाडि बढाउने रेग्मीले बताएका छन् ।
एसएसपी रेग्मीले बिरामी बोकेको एम्बुलेन्स लामो समयसम्म रोक्नु राम्रो नभएको बताए । प्रहरी कार्यालयभित्र एम्बुलेन्स रहँदा महिलाको मृत्यु भएको विषयमा पनि प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण भएको र अनुसन्धान भइरहेको रेग्मीले बताए । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज गरिएका बिरामी बोकेको ना २ च ८४३२ नम्बरको एम्बुलेन्स रोकेर घुमुवा प्रहरी सहायक हबल्दार शिवाकोटीले सडकमै ‘बबाल’ गरेपछि महिलाको मृत्यु भएको आरोप लागेको हो ।
एम्बुलेन्ससँगै काठमाडौंबाटै आएको एउटा टाटासुमोमा रहेका परिवारलाई लिन बकैयाबाट अर्को टाटासुमो आएको थियो । रानी दरबारअगाडि मेनरोडमै काठमाडौंबाट आएको टाटासुमो खाली गरेर बकैयाबाट आएको टाटासुमोमाबिरामीको परिवार चढ्नै लाग्दा सहायक प्रहरी हबल्दार शिवाकोटी मदिराले मातिएको अवस्थामा आइपुगेको मृतक परिवारले आरोप लगाएको छ । बिरामी परिवारका अनुसार मादकपदार्थ सेवन गरेका शिवाकोटीले सुरुमै एम्बुलेन्सको चाबी थुतेर गाडीमा लात्ती बर्साउनुका साथै चालकमाथि हातपात गरेको जनाइएको छ ।
मृतक महिलाको छोरा लालबहादुर वाइवाले सुरुमा शिवाकोटीले हातपात गरेकोबताए । ‘हामी टाटासुमो परिवर्तन गर्दै थियौँ । घुमुवा आएर एम्बुलेन्सको चाबी थुते र ढाक्कढुक्क पार्न थाले । पाँच मिनेटजति त हामी बोल्नै नसक्ने अवस्थामा भयौँ,’ वाइबाले भने, ‘तपाईं को हो भनेर सोध्दा म हेटौँडाको डन हो । बोलाऊँ, गोली ठोक्दिऊँ भन्यो ।’, वाइवाले सुनाए । शिवाकोटीले प्रहरी भएको कुनै जानकारी नदिएको र विवाद हुँदा मात्रै उनको साथबाट पेस्तोल र हत्कडी सडकमा झरेको वाइबाले बताए ।
प्रहरीले एम्बुलेन्स नै प्रहरी कार्यालयमा ल्याएर राख्दाबिरामी महिलाको मृत्यु भएको हो । अक्सिजनको सहारामा घर लैजाँदै गरेको अवस्थामा उनको छोरा, ज्वाइँहरु गरी पाँच जना प्रहरी हिरासतमै रहँदा महिलाको मृत्यु भएको हो । करिब २ घण्टा एम्बुलेन्स प्रहरी कार्यालयमै राखिएको थियो । अक्सिजनको मात्रा ४० प्रतिशतमात्रै रहेको र अर्को अक्सिजन परिवर्तन गर्न नपाइएको उनका छोरा वाइबाले बताए । ‘हामीलाई श्वास थोरै रहेसम्म पनि आस हुन्थ्यो त । हस्पिटल लैजानुभन्दा पनि एम्बुलेन्स प्रहरी कार्यालयमै राख्यो ।’, उनले भने ।
सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ हेटौंडा आएकै दिन नारा, जुलुस निस्किने त्रासले प्रहरीले मृतक महिलाको छोरा र ज्वाइँसहित पाँच जनालाई ४–५ घण्टा हिरासतमा राखेर सोमबार बिहानै छोडेको थियो । घटनामा प्रहरीकै गल्ती देखेपछि एउटा सहमतिपत्र गराएर उनीहरुलाई हिरासतमुक्त गरिदिएको थियो । महिलाको शव उनको परिवारले सोमबार नै घर लगेको छ ।







