त्रिशूलीमा हामफालेका हेटौंडाका देवकोटा वेपत्ता
हेटौंडा- मकवानपुरका एकजना युवक धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेंसीस्थित नयाँ पुलबाट त्रिशूलीमा हामफालेर बेपत्ता भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ चौकीटोल निवासी ३८ वर्र्षीय नीरञ्जन देवकोटाले आइतबार साँझ त्रिशूलीमा हामफालेका थिए । बा.प्र. ०३–००५ प ४१७६ नम्बरको एभेन्जर मोटरसाइकल नयाँ पुलमै छाडेर देवकोटा त्रिशूलीमा हामफालेर बेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यालय गजुरीबाट ३ किलोमिटरको दूरीस्थित त्रिशूली पुलबाट हामफालेका देवकोटाको अहिलेसम्म अवस्था खुल्न सकेको छैन । देवकोटाले त्रिशूलीमा हामफालेको खबर पाएपछि उनका आफन्तहरु प्रहरीको सम्पर्कमा आइसकेका छन् । अहिले प्रहरीले स्थानीयको सहयोग लिएर उनको खोजी गरिरहेको छ । धादिङ र चितवनका प्रहरीले देवकोटाको खोजी गरिरहेको बताइएको छ ।







