हेटौंडामा आजबाट एसियाली बुद्धिचाल प्रतियोगिता
हेटौंडा- हेटौंडामा पहिलो पटक एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता हुँदैछ । आज बुधबारदेखि सुरु हुने प्रतियोगितामा १ सय २० जना खेलाडीले सहभागिता जनाउँदैछन् ।काठमाडौंपछि मोफसलमा पहिलोपटक एसियाली देशहरुको सहभागितामा प्रतियोगिता हुन लागेको आयोजक बुद्धिचाल संघ मकवानपुरका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । प्रतियोगिता ५ दिनसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका १२० जना खेलाडीले सहभागिता जनाउने श्रेष्ठले बताए । स्विस नियमअनुसार हुने प्रतियोगिता ९ चरणमा खेलाइनेछ ।
प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ रजिस्ट्रेसन शुल्क तोकिएको छ । प्रतियोगितामा सहभागी खेलाडीका लागि खाने र बस्ने व्यवस्थापन आयोजकले गर्नेछ । प्रतियोगितामा मकवानपुरका दुईजना र नेपालबाट ४० जना खेलाडी सहभागी हुँदैछन् । सबैभन्दा धेरै खेलाडी भारतबाट सहभागी हुने अध्यक्ष श्रेष्ठले बताए ।बुद्धिचालमहासंघका केन्द्रीय महासचिव धरम लामाले भारतबाट सबैभन्दा बढी खेलाडीले रजिस्ट्रेसन गरेको बताए । भारतबाट ६० जना भन्दा बढी खेलाडीले रजिस्ट्रेसन गरेका हुन् ।
बंगलादेशबाट ६ जना, श्रीलंकाबाट एक जना खेलाडीले नाम दर्ता गरेको उनले बताए । प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ४० हजार रुपैयाँ हात पार्नेछन् । यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ जित्नेछन् । यस्तै छैठौंदेखि दशौं स्थानसम्मका प्रत्येक प्रतियोगिले नगद १५ हजार, एघारौँदेखि पन्ध्रौँसम्मले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय लगायत विभिन्न विधामा ३८ जनाले नगदसहित पुरस्कार प्राप्त गर्ने महासचिव लामाले बताए । प्रतियोगिता आयोजनाका लागि ६१ लाख १२ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिता सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिका, हेटौंडाका केही वडा कार्यालय, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश र राष्ट्रिय खेलकुद परिषदले आर्थिक सहयोग उपलब्ध गराएको उनले बताए । बुद्धिचाल संघ मकवानपुरले यसअघि मकवानपुरका खेलाडीलाई प्राथमिकतामा राखेर मेयर कप प्रतियोगिता आयोजना गर्दै आएको थियो ।







