वैदिक नयाँवर्षलाई स्वागत गर्दै सनातन धर्मगुरुहरु आजबाट कलियुगको ‘नयाँवर्ष’
हेटौंडा- द्वापरयुगको समाप्त भई कलियुग प्रारम्भ भएको ५०८८ वर्ष पूरा भएर आज मंगलबारबाट कलि संवत् ५०८९ सुरु भएको छ । युगहरुमध्ये सबैभन्दा छोटो यो कलियुग आफैंको आयु ४ लाख ३२ हजार वर्ष रहेको छ । कलियुगमध्ये अहिलेसम्म जम्मा ५ हजार ८८ वर्ष बितेको छ । अब कलियुगको आयु ४ लाख २६ हजार ९ सय १२ वर्ष बाँकी छ । यो सकिँदा पनि प्रलय भई संसार नाश हुनेछैन । वातावरण परिवर्तन भई सत्ययुग प्रारम्भ हुन्छ । अन्तरिक्षमा अहिले सप्तऋषि मघा नक्षत्रमा छन् । जब एकै समयमा एकैचोटी तिष्यनक्षत्र सूर्य, चन्द्र, बृहस्पति एउटै राशिमा प्रवेश हुन्छ त्यही समयबाट सत्ययुग प्रारम्भ हुन्छ । सप्तऋषिले मघानक्षत्र प्रवेश गरेर पारगर्दा ४ लाख ३२ हजार वर्ष जान्छ ।
वैदिककाल गणनाको सुरु त्रुटिबाट उठाई मुहुर्तादि गणना हुन्छ । बराहमिहिर आदिले आर्यवर्तमा प्रवेश गराएको कालगणना विपला, पलादेखि घडी आदि हुन् भने पाश्चात्य कालगणना सेकेण्ड, मिनेट, घण्टा आदि हुन् । ईरानी मग ब्राह्मणहरुले ईरानतिरबाट ल्याएर फैलाएको अहिले लोकमा चलनचल्तिमा रहेको आर्यभट्ट वराहमिहिरले तयार गरेको यवनी पद्दतीको कालगणना भन्दा वैदिककाल गणना पद्दती फरक छ । कालको सबैभन्दा सानो परिमाणलाई त्रुटि भनिन्छ ।
१ मुहुर्त भनेको चलनचल्तिको सबैले बुझ्ने भाषामा ४८ मिनेट भनिएको हो । १ मुहुर्त भनेको २० कला हो । २ पक्ष भनेको १ चन्द्रमास हो । त्यो चान्द्र उत्तरायण र दक्षिणायन हुन्छ । २ सौर चान्द्र अयनहरुको १ सौर चान्द्र वर्ष हुन्छ । ५ सौर चान्द्र वर्षहरु १ सौर चान्द्र युग हुन्छ । यस्तो कालगणना पद्दति वेदान्त ज्योतिष, व्याकरण अष्टाध्यायी, महाभारत, कौटलिय अर्थशास्त्र, शुश्रुत संहिताहरुमा उल्लेख भएको छ ।
वार्हस्पत्य षष्ठी संवत्सरको र चान्द्रषष्ठी संवत्सर वैदिक पञ्चवर्षात्मक युगको नै अर्को रुप हो । श्रौत–स्मार्त धर्मकर्मका संकल्पहरुमा चान्द्र संवत्सरको नै उल्लेख गर्नुपर्ने वैदिक व्यवस्था छ । वेदान्त ज्योतिषको सिद्धान्तको बीज वेदको मन्त्र संहिता र ब्राह्मण ग्रन्थ हुन् । अथर्ववेदको गोपथ ब्राह्मणमा पनि यो ज्योतिषको गणित छ । मुण्डक्योपनिषद्मा पनि वेदा· ज्योतिषको क्रमबद्ध उल्लेख छ । वैदिक परम्परामा पाँच–पाँच वर्षका युगहरु छन् । तिनलाई १२–१२ युगको समूहमा समूहिकृत गरेर ती समूहलाई संघयुग भनिन्छ ।
वैदिक वर्षारम्भका दिन तपःशुक्लप्रतिपदा, उत्तरायण, शिशिर ऋतु प्रारम्भ हुन्छ । वैदिक नभःशुक्लप्रतिपदामा वैदिक सौर चान्द्रको दक्षिणायन प्रारम्भ हुन्छ । वैदिक नववर्ष आरम्भको दिनमा नै तपः मास, वैदिक आर्तव माघमासको पनि आरम्भ हुन्छ । यी कुरा चल्तिका पात्रोमा हुँदैनन् । वैदिक मासहरु तपः–तपस्य, मधु–माधव, शुक्र–शुचि, नभो–नभस्य, इष–ऊर्ज, सह–सहस्य हुन्छन् । वैदिक सहस्य मास समाप्त हुँदा, पूर्ववर्षको संवत्सर पनि त्यसै दिन समाप्त हुन्छ र त्यसैको भोलिपल्टका दिनबाट वैदिक तपःमास, उत्तरायण, शुक्लप्रतिपदा हुन्छ ।
वैदिक बाह्रैमासको शुक्लप्रतिपदाबाट सुरु भई अमावस्यको दिन समाप्त हुन्छ । यसवर्ष चलन चल्तिको २०८० साल मंसिर महिनाको २७ गतेका दिन वैदिक नववर्ष ५०८९ कलि संवत्सर ५०८९ प्रारम्भ भएको छ । द्वापरयुगको समाप्त भई कलियुग प्रारम्भ भएको ५०८८ वर्ष पुरा भएको छ ।







