मकवानपुरमा ७७ जनामा अटिजम, पहिचानमा कठिनाई
हेटौंडा- बागमती प्रदेशमा अटिजम देखापरेकोे संख्या एक हजार भन्दा बढी रहेको पाइएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले अटिजमसम्बन्धी छलफल गर्दै अटिजमबारे जानकारी दिएको हो ।मन्त्रालयका डा. साकार खनालद्वारा प्रस्तुत गरिएको तथ्यांकमा बागमती प्रदेशमा सबैभन्दा बढी काठमाडौंमा अटिजम रहेको पाइएको छ । मकवानपुरमा अटिजमको समस्या ७७ जनामा हालसम्म देखापरेको छ । मकवानपुरमा ४७ जना महिला र ३० जनमा पुरुष गरी ७७ जनामा अटिजम समस्या रहेको मन्त्रालयले जनाएको छ । तर, यो तथ्यांक अटिजम भएकाको वास्तविक तथ्यांक भने होइन । मन्त्रालयले अटिजमको पहिचानमा कठिनाई भएकाले घरभित्रै लुकेर रहेको आशंका व्यक्त गरेकोछ । जसकारण मकवानपुरमा ७७ भन्दा बढी बालबालिकामा अटिजम हुनसक्ने अनुमान मन्त्रालयले गरेको छ ।
बागमती प्रदेशमा एक हजार २ सय ५३ जनामा अटिजमको समस्या रहेको छ । काठमाडौंमा ४ सय ९५, ललितपुरमा ८३, भक्तपुर ७८, चितवन १ सय १३, मकवानपुर ७७ र नुवाकोटमा ६५ जनामा अटिजमको अवस्था रहेको डा. खनालले जानकारी दिए । त्यस्तै सिन्धुपाल्चोकमा ५४, दोलखा ३३, सिन्धुली ६५, रामेछाप २८, काभ्रे ६५ र रसुवामा १७ जनामा अटिजमको अवस्था रहेको उनले बताए ।नेपालमा ३ लाख नागरिकमा अटिजमको समस्या रहेको छ । अटिजम केयर नेपाल सोसाइटीका प्रमुख डा. सुरेन्द्र बज्राचार्यले जन्मजात न्युरो डेभलपमेन्ट डिअर्डर हुनु अटिजमको समस्या रहेको बताउँदै नेपालमा करिव ३ लाख नागरिकमा अटिजमको समस्या रहेको जानकारी दिए । उनले सन् २००० देखि अटिजमको समस्या ३ सय १७% ले बृद्धि हुँदै गएको बताए । परिवारमा एकजनालाई अटिजमको समस्या देखिए अरुलाई हुने सम्भावना १५–२० प्रतिशत हुने ब्रजाचार्यले बताए ।
विश्वमा ३६ जनामध्ये १ जनामा अटिजमको समस्या देखा पर्ने उनले बताए । अटिजम समस्याको मेडिकल जाँच तथा औषधिउपचार नभएको तर, थेरापीले केही कम हुने उनले जानकारी दिए । कार्यक्रममा अटिजमको अन्तराष्ट्रिय, राष्ट्रिय तथा प्रदेशको विद्यमान अवस्था, बागमती प्रदेशभित्र अटिजमको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाको नक्शांकन, अटिजम सम्बन्धी जनस्वास्थ्य क्षेत्रबाट सम्बोधन गर्न सकिने सवालकाबारेमा स्वास्थ्यक्षेत्रले अटिजमसम्बन्धी गर्न सक्ने कार्यक्रमको कार्ययोजना तयार, मन्त्रालय र सरोकारवाला निकाय बीचको समन्वय र सहकार्यलाई सुदृढीकरण गर्ने लगायत विषयमा छलफल भएको हो ।
कार्यक्रममा देशभर अटिजमको जनचेतनाको कमी, अभिभावक, शिक्षक तथा स्वास्थ्यकर्मीले अटिजमको अवस्थालाई पहिचान गर्न सक्ने क्षमताको कमी, अटिजम सम्बन्धी स्वास्थ्यसेवाको कमी, शीघ्र जाँच पहिचान र निदानमा समस्या, शीघ्र हस्तक्षेपकारी भूमिका र पुनस्र्थापनामा समस्या, अटिजम सम्बन्धी विषेशज्ञ जनशक्तिको कमी, हैविलिटेशन तथा पुनस्र्थापनामा समस्या रहेको बताइएको छ । यस्तै अटिजमको पूर्ण तथ्यांकको कमी, अटिजमसम्बन्धी अनुसन्धानको कमी, अटिजमसम्बन्धी नीतिको कमी, अटिजम भएका व्यक्तिका लागि आवश्यक सेवा तथा सुबिधाको कमी, रोजगारीमा समस्या रहेको बताइएको छ ।
कार्यक्रममा अटिजम भएका बालबालिकाको अभिभावकले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमा अटिजमबारे जानकारी नहुँदा उपचार गराउन समस्या पर्ने गरेको बताए । अटिजम बालबालिकाको उपचार पहुँच हुनेको छिटोछरितो हुने, पहुँच नहुनेको उपचार गराउन नसक्ने रहेको अभिभावकले बताउँदै अटिजम भएका बालबालिका हुर्काउन अति गाह्रो हुने भएकोले तालिमको व्यवस्था गरिदिनुपर्ने माग प्रदेश सरकारसँग राखेका छन् । बालबालिका एक्लै बस्ने, आँखा नजुधाउने, शब्द वा वाक्यांश दोहो¥याउने, बोलाउँदा नबोल्ने, साधारण तरिकाबाट कुनै कुरा सिक्न नसक्ने, असामान्य व्यवहार गर्ने गरेमा अटिजमको समस्या भएको आशंका गर्न सकिने कार्यक्रममा बताइएको छ ।







