चेपाङ र बनकरियालाई जाडोबाट बच्न सिरक
हेटौंडा-मनहरी गाउँपालिका–४ का चेपाङ र वनकरिया समुदायलाई चिसोबाट बच्नका लागि सिरक बितरण गरिएको छ । वडाध्यक्ष प्रकाश थापाले आफ्नो वडामा बसोबास गर्ने गरिव, विपन्न चेपाङ र वनकरिया समुदायका बासिन्दालाई सिरक बाँडेका हुन् ।दि डिस्टिलरी प्रालि बालाजुसँग मागेर ल्याइएको १ सय ५५ थान सिरक ४ नम्बर वडाका चेपाङ र बनकरियाका लागि बितरण गरिएको छ । ‘गरिव, विपन्न समुदायमा अहिले पनि सिरकको अभावमा अँगेनामा आगो बालेर सुत्नुपर्ने बाध्यता रहेकाले विभिन्न व्यक्ति, संस्था र कम्पनीसँग सिरक माग गरेको थिएँ ।’, वडाध्यक्ष थापाले भने, ‘दि डिस्टिलरीले मेरो मागलाई स्वीकार गरेर मानवीय सहयोग गरेर पूण्य कमाउने काम ग¥यो ।’,
सिरक हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष थापा, स्थानीय समाजसेवी बिष्णु चेपाङसहित दि डिस्टिलरी प्रालिका निर्देशक कृष्णकुमार चुडीवाला, सिनियर अफिसर जनक रेग्मी र प्रवन्धक बिजय मल्ललगायतको सहभागिता रहेको थियो । सोही अबसरमा डिस्टिलरीका प्रवन्ध निर्देशक चुडीवालाले चेपाङ बालबालिकालाई एकछाक खिचडी खाजा खान भन्दै नगद ५ हजार रुपैयाँ समेत सहयोग गरेका छन् ।
चुडीवालाले स्थानीय बिष्णु चेपाङमार्फत् बालबालिकालाई खाजास्वरुप खिचडीको व्यवस्थापन गर्न सहयोग गरेका हुन् । नेपालमै मनहरी–४ मुसेधापमा मात्रै बसोबास रहेको बनकरिया समुदायका लागि लक्षित गरी यसअघि पनि बागमती प्रदेश सरकारको आन्तरिक तथा कानून मन्त्रालयले पनि सिरक बितरण गरेको थियो ।







