थाहानगर र धादिङको थाक्रे जोड्ने सडक निर्माण तीव्र

साझाकुरा
२०८० माघ ८, सोमबार १०:५१

हेटौंडा-थाहा नगरपालिका र धादिङको थाक्रे गाउँपालिकाको महादेववेशी जोड्ने पक्की सडक निर्माण कार्य धमाकम भइरहेको छ । कालोपत्रे गरिने सडकमा हाल कटिङ र नालाको काम भइरहेको हो ।काष्ठमण्डप कन्स्ट्रक्शनले ठेक्का पाएको यो सडकको कटिङ, नालालगायतको काम द्रुतगतिमा भइरहेको थाहा नगरपालिका–८ का वडाध्यक्ष हेमकुमार थिङले जानकारी दिए । अहिले दामगडे–मोरिया सडकखण्डमा काम भैरहेको छ । डाँडाबास–गैरीगाउँ–दामगाडे–मोरिया–महादेववेशी सडकलाई एकमुष्ट ९९ करोड ९८ लाख १५ हजार ७७७ विनियोजन भएकोमा धादिङ र मकवानपुर दुवैतिरबाट निर्माण थाल्ने गरी स्वीकृत बजेटको ५०–५० प्रतिशत रकमको मकवानपुर र धादिङतर्फका लागि टेण्डर भई काम सुरु भएको हो ।

थाहा नगरपालिकाको वडा नम्बर ७, ८ हुँदै धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर ३ मा जोडिनेछ भने थाक्रे २ नम्बर वडालाई समेत यो सडकले सहजता हुने वडाध्यक्ष थिङले बताए । कुल २७ किलोमिटर लामो यो सडकका लागि पहिलो वर्ष २० प्रतिशत काम सम्पन्न हुनेछ भने दोस्रो वर्ष ३५ र तेस्रो वर्ष ४५ प्रतिशत काम सम्पन्न गरी सडकलाई पूर्णता दिइने राष्ट्रिय योजना आयोग बागमती प्रदेशले जनाएको छ ।

वर्षेनी वर्खाको बेला यातायात सेवाबाट विच्छेद हुनुपर्ने थाहानगरको आग्रा क्षेत्रका बासिन्दाका लागि यो सडक योजना बरदान सावित हुने अध्यक्ष थिङको भनाइ छ । सडकको क्षेत्राधिकार दायाँबायाँ १५÷१५ मिटर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*