खाद्य अधिकृत श्रेष्ठ कार्यकक्षमै कुटिए, कार्यालय सहयोगीका श्रीमान पक्राउ

साझाकुरा
२०८० माघ ९, मंगलवार १०:४४

हेटौंडा- औद्योगिक क्षेत्रस्थित खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय हेटौंडाका प्रमुख डा. क्षितिज श्रेष्ठमाथि कुटपिट भएको छ ।कार्यकक्षमै रहेको समयमा श्रेष्ठमाथि आइतबार दिउसो कुटपिट भएको हो । कार्यालय सहयोगी शोभा पोडेका श्रीमान् रमेश पोडेले श्रेष्ठमाथि कुटपिट गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । आफूमाथि कार्यकक्षमै कुटपिट भएको भन्दै बरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. श्रेष्ठले पोडेसहित ४ जना कुटपिटमा संलग्न भएको भन्दै जाहेरी दिएका छन् ।

प्रहरीले आरोपित पोडेलाई आइतबार नै पक्राउ गरेको हो । श्रेष्ठमाथि कुटपिटमा संलग्न अन्य ३ जना भने फरार रहेको मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । ‘उनीहरुलाई पनि खोजिरहेका छौं ।’ भण्डारीले भने । आरोपित पोडेलाई प्रहरीले जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरेको छ । कुटपिटबाट डा. श्रेष्ठको आँखा नजिक सुन्निएको छ ।

कार्यालय सहयोगी शोभालाई करार सेवाबाट निकालेको घटनाले श्रेष्ठसँग कार्यकक्षमै विवाद भएको थियो । खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय हेटौंडामा विगत १८ वर्षदेखि आफू करार सेवामा काम गर्दै आइरहेको कार्यालय सहयोगी पोडेले जानकारी दिएकी छन् । उनको गत असोजमै करार सकिएको थियो । चाडपर्वका कारण असोजमै निवेदन दिन नभ्याएर कार्तिकमा करार नवीकरणका लागि निवेदन दिँदा कार्यालय प्रमुख श्रेष्ठले पुननियुक्ति नगर्दिएको उनले बताएकी छन् ।

‘कार्तिकमा नवीकरण नभए पनि काम गर्दै जानु भनेर भन्नुभयो । मंसिरसम्म पूरै काम गर्दा पनि पैसा आएन । पुस १ गते कार्यालय जाँदा त म तपाईंलाई चिन्दिन भनेर पो भन्नुभयो ।’ कर्मचारी पोडेले भनिन् । पुसमा घरमै बसेर आइतबार कार्यालय पुगेकी पोडेलाई श्रेष्ठले ज्यालादारीमा हप्ताको २ दिन काम गर्न भनेका थिए । ‘ज्यालादारीमा गर्दै जानु पछि करारमा राख्दा सोच्नुपर्छ भन्नुभयो ।’ उनले भनिन् ।

आफूसँगै कार्यालय पुगेका श्रीमान र डा.श्रेष्ठबीच विवाद भएको र धकेलाधकेल भएकोसम्म आफूले थाहा पाएको उनले बताएकी छन् । विवाद सुरु भएपछि आफू बेहोस भएको र हस्पिटलमा आइसकेपछि घटनाबारे सबै थाहा पाएको उनले बताइन् । घटनाबारे बुझ्न कार्यालय प्रमुख श्रेष्ठ र सूचना अधिकारी प्रगति अधिकारीलाई सम्पर्क गर्न खोज्दाउनीहरुको फोन उठेन ।

यसमा तपाइको मत

Your email address will not be published.


*