राष्ट्रियसभा निर्वाचनः आयोगको तयारी पूरा

साझाकुरा
२०८० माघ १०, बुधबार ११:०८

हेटौंडा-आसन्न राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशको हेटौंडामा हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । यही बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान अधिकृतको नियुक्ति, मतपत्रको व्यवस्थालगायतको तयारी पूरा भएको छ ।हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय परिसरमा हुने निर्वाचनका लागि एक मतदानस्थल र दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । एउटा मतदान केन्द्रमा मतदान अधिकृतसहित १० जना कर्मचारी रहने गरी निर्वाचन अधिकृतको कार्यालयले व्यवस्था मिलाएको छ ।

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले राष्ट्रियसभा निर्वाचनमा मतदाता रहने बागमती प्रदेशसभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगरप्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मतदान गर्न छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिए ।उनले मतदान अधिकृत र निर्वाचनमा खटिने कर्मचारीलाई सोमबार अनुशिक्षण दिएको र यसअघि सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर सुरक्षा व्यवस्थाको तयारी गरिएको बताए । बागमती प्रदेशबाट अल्पसंख्यक र अपा·ता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लस्टर) का चारजनाका लागि राष्ट्रियसभा सदस्यमा निर्वाचन हुँदैछ ।

यस प्रदेशमा चारजना राष्ट्रियसभा सदस्यका लागि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको चाररचार, राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन, नेपाली कांग्रेसको दुई, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एकरएक जना गरी १५ जना उम्मेदवार रहेका छन् ।राष्ट्रियसभा सदस्य निर्वाचनमा यस प्रदेशबाट मतदान गर्ने मतदाता ३४७ जना रहेका छन् । तीमध्ये ११० जना प्रदेशसभा सदस्य र ११९ स्थानीय तहका प्रतिनिधि छन् । स्थानीय तहका मतदाता २३८ हुनुपर्नेमा दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको पदरिक्त हुँदा स्थानीय तहबाट २३७ मतदाता मात्र कायम भएको छ ।

निमित्त निर्वाचन अधिकारी आचार्यले मतदानका लागि मतपत्र आइसकेको, प्रदेशसभा सदस्य र नगरप्रमुख एवम् उपप्रमुख तथा गाउँपालिका अध्यक्ष एवम् उपाध्यक्षका लागि मतदान गर्न छुट्टाछुट्टै मतपत्रको व्यवस्था रहेको बताए । मतदानका दिन आवश्यक निर्वाचन सामग्रीको व्यवस्थापन भइरहेको आचार्यले बताए ।राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तय गरिएको छ । मतदान सकिएपछि मतदानस्थलमा नै मतगणना गर्ने व्यवस्था मिलाइएको निमित्त निर्वाचन अधिकारी आचार्यले भने, ‘मतगणनालगत्तै मतपरिणाम सार्वजनिक गरिनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*