राष्ट्रिय रोटरीको बजार ब्यवस्थापन जिम्मा सहकारीलाई
हेटौंडा-मनहरी गाउँपालिका–७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको पुरानो भवनमा रहेको रोटरी मार्केटको व्यवस्थापकीय जिम्मेवारी सहकारीले लिने भएको छ ।मनहरी ९ ज्यामिरेमा मुख्य कार्यालय रहेको मनहरी समृद्ध बहुद्देश्यीय सहकारीले रोटरी मार्केटको जिम्मेवारी लिने तयारी भएको हो । यसअघि एसएण्डटी राई मार्केटले रोटरी माध्यमिक विद्यालयसँग सम्झौता गरी १५ वर्षका लागि रोटरी मार्केट व्यवस्थापनको जिम्मेवारी लिएको थियो । तर, सोचेजसरी व्यवस्थापन गर्न नसकेपछि एसएण्डटी मार्केट पछि हटेको हो । विद्यालय र मनहरी समृद्ध बहुद्देश्यीय सहकारी संस्थाबीच रोटरी मार्केट व्यवस्थापनबारे सम्झौता हुने अन्तिम तयारी रहेको बताइएको छ ।
यसैबीच मनहरी समृद्ध बहुद्देश्यीय सहकारीले रोटरी मार्केटमा रहेका व्यवसायीहरु, मकवानपुर उद्योग वाणिज्य संघ, सञ्चारकर्मी लगायत सरोकारवालासँग छलफल गरेको छ । सहकारीका अध्यक्ष नारायण सुवेदी, राष्ट्रिय रोटरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानियाँ, मउवासंघ पश्चिम क्षेत्र समितिका बरिष्ठ उपसभापति रामचन्द्र उप्रेती र महासचिव पदमबहादुर तितुङसहितको टोलीले रोटरी मार्केटलाई व्यवस्थित बनाउने आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा व्यवसायीसँग छलफल गरेका छन् ।
छलफलका क्रममा व्यवसायीले सटर भाडा घटाउनुपर्ने, मार्केटको सौन्दर्यबृद्धिका लागि सरसफाईमा ध्यान दिनुपर्ने, पार्किङ र शौचालयलगायतका बिषयमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए । प्राप्त सुझावका आधारमा रोटरी मार्केटलाई व्यवस्थित गर्दै लगिने मनहरी समृद्ध बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुवेदीले बताए । विद्यालयले वार्षिक १३ लाख रुपैयाँमा रोटरी मार्केटको ब्यवस्थापन जिम्मेवारी दिएको थियो ।







