राक्सिराङमा कृषिउपज तथा रैथाने बाली बिक्री केन्द्र स्थापना
हेटौंडा- जिल्लाको विकट राक्सिराङ गाउँपालिकामा स्थानीय उत्पादन कृषिउपज तथा रैथाने बाली बिक्रीकेन्द्र स्थापना भएको छ ।गाउँघरमै उत्पादित रैथाने कृषिउपजलाई बजारीकरण गर्ने उद्देश्यका साथ राक्सिराङ गाउँपालिका–८, स्थित हिमाली देवीटार कृषि सहकारी संस्था लिमिटेडले स्थानीय उत्पादन कृषिउपज तथा रैथाने बाली बिक्री वितरण र संकलन केन्द्र स्थापना गरेको हो । संस्थाको चौथो वार्षिक साधारणसभाको अवसरमा मंगलबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लले केन्द्रको उद्घाटन गरेका छन् ।
केन्द्रको उदघाटन गर्दै अध्यक्ष मल्लले संस्थाले राम्रो कामको सुरुवात गरेको भन्दै रैथाने बालीको उत्पादन बढाउन आग्रह गरे । उनले संकलनकेन्द्रमा रैथाने कृषिसामग्रीको अभाव कहिल्यै पनि हुन नदिन आग्रह गर्दै लोप हुँदै गएका रैथाने बालीको संरक्षण र उत्पादन बृद्धि गर्न गाउँपालिकाले अनुदानको व्यवस्था गर्ने बताए । उनले कृषिउपज उत्पादन भई संकलन गर्नसके पर्यटनक्षेत्रमा समेत यसले टेवा पुग्ने बताए ।
उनले निकट भविष्यमै गाउँपालिकाले कृषि एम्बुलेन्स चलाउने भन्दै रैथाने बाली, कृषि उपजलाई बजारीकरणको लागि ब्राण्डिङ गर्दै लैजाने समेत बताए । गत आर्थिक बर्ष २०७९÷८० मा विनियोजित ८ लाख रुपैयाँको बजेटबाट ३ कोठाको भवनमा सहकारी संस्थाले रैथाने बाली बिक्री वितरण र संकलनकेन्द्र स्थापना गरेको हो । संकलनकेन्द्रमा संस्थाले मकैको पीठो, गुन्द्रुक, चिउरीको पिना, घ्यु, वनतरुल, कोदोको पीठो, फापरको पीठो, तोरी, मास, मस्याङ, केरा, गहत, जुनेलो, डोको, मान्द्रो, तामा, पिंडालु, सिमल तरुललगायत २० प्रकारको स्थानीय उत्पादन बिक्रीको लागि राखेको छ ।
‘हाम्रै गाउँघरमा उत्पादित रैथाने बाली तथा कृषिउपज संकलन गरेर बिक्रिका लागि राखेका छौं । कृषकले उत्पादन गरेको बालीलाई बजारभाउमै गाउँमै खरीद गरी व्यावसायीकरण गर्ने सहकारीको लक्ष्य छ । मौलिक र रैथाने बालीलाई ठुलाठुला बजारसम्म पु¥याउन पहल भइरहेका छन् ।’ उनले भने । कार्यक्रममा वडा नम्बर–८ का युसाई प्रजा, गाउँपालिकाको कृषि शाखा प्रमुख कृष्ण डुम्रे, वडाका सवइन्जिनियर मनोज प्रजा, राष्ट्रिय जनवकालत मञ्च (नाफान) का सन्तोष थापा लगायतको आतिथ्यता थियो । संस्थालाई गाउँपालिका, राष्ट्रिय जनवकालत मञ्च नाफान लगायत संस्थाले सहयोग समेत गरेको छ ।







