मकवानपुरगढीमा २६१ औं विजय उत्सव मनाइयो

साझाकुरा
२०८० माघ ११, बिहीबार १०:०९

हेटौंडा-मकवानपुरगढी राज्यमाथि आक्रमण गर्न आएका मुगल सेनालाई पराजित गरेको दिनका रुपमा बुधवार २६१ औं विजयउत्सव मनाइएको छ । गाउँपालिकाको २ नम्बर वडाको आयोजनामा विजयउत्सव मनाइएको हो । वडाअध्यक्ष बखानसिं पाख्रिनको सभाध्यक्षतामा भएको विजयउत्सव कार्यक्रममा बागमती प्रदेशका सांसद इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । पृथ्वीनारायण शाहको गोर्खाली सैनिकले मुगल सेनालाई पराजित गरेको दिनलाई मकवानपुरगढीमा हरेक वर्ष विजयउत्सव मनाउँदै आइरहेको छ । विगतमा विजयउत्सव मनाउने गरिएको थिएन । गाउँपालिकामा जनप्रतिनिधि आएपछि विजयउत्सवलाई भव्यरुपमा मनाउन लागिएको हो ।

मकवानपुरगढीमा मुगल सेनालाई आक्रमणका लागि ल्याउने गढीकै तत्कालीन सेन वंशीय राजा दिग्वन्धन सेन रहेको इतिहासमा उल्लेख छ । आफ्ना जेठानसमेत रहेका दिग्बन्धनलाई पृथ्वीनारायण शाहले यहाँबाट भगाएपछि उनी मुगल सेना लिएर पुनः गढी प्राप्तिका लागि लड्न आएका थिए । मिर कासिमसँग वार्ता मिलेपछि युद्द गर्न वंगाली सेनाको फौज सहित दिगवन्दन सेन मकवानपुरगढीतर्फ आएको इतिहासमा पाइन्छ । राजा दिग्वन्धन सेन चुरियासम्म आएर पछि हटेका थिए ।

चुरिया डाँडा काटेर १८१९ पौष २७ गते मीर कासिमको फौजले हर्नामाडीचौकी आक्रमण गरेको थियो । आक्रमणमा करिब ३ हजार फौजी खटाइएको थियो । यसरी आक्रमण गर्न आएको कुरा दहचोकगढीमा बसेका राजा पृथ्वीनारायण शाहलाई रातारात खबर पुग्यो । त्यसबखत पृथ्वीनारायण शाह कटेरी गैरीगाउँबाट मकवानपुरगढी चढ्नको लागि सजिलो बाटो बनाईरहेको इतिहासमा उल्लेख गरिएको छ । गोर्खाली सेनाहरु गएर मिर कासिमको फौजमाथि ढुङ्गामुढा बर्साएको र कोही क्याम्पमै र कोही भारी बोकेर गढीतर्फ आइरहेको देखेर गोर्खालीका सेनापति नहर सिंह बस्न्यात, केहलरसिंह बस्न्यात, वंशराज पाँडे, जीव शाह, हर्क पन्त, रामकृष्ण, कुँवरको नेतृत्वमा गोर्खालीहरुले शिखरकटेरीमाथिबाट ढुंगामुढा बर्साएको पाइन्छ ।

वि.स १८१९ माघ १० गते भएको अन्तिम लडाईमा मिर कासिमका नायव सेनाको हार भयो । यस युद्धमा मीरकासिमका १७०० जवान र गोर्खालीका ३० जना सेनाको मृत्यु भएको थियो । युद्धबाट गोर्खालीलाई ५०० सय बन्दुक, २ तोप, बारुद, गोला लाभ भएको थियो । गोर्खालीहरुले बिदेशी सैनिकमाथि विजय प्राप्त गरेकोले मनोबल उच्च भएको थियो । मुगललाई गोर्खालीहरुबाट पराजित गरेपश्चात राजा पृथ्वीनारायण शाहबाट मकवानपुरगढीमा पहिलो बिजयउत्सव मनाईएको थियो । सोही दिनमा ऐतिहासिक दिनको सम्झनामा माघ १० गते विजयउत्सव मनाउने गरिन्छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद बानियाँले मकवानपुरगढी दरवार क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए । विजयउत्सव कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, प्रदेशका पूर्वस्वास्थ्य मन्त्री निमा लामा, गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, मध्यपृतना हेटौंडाका उपरथि प्रदीपजंग केसी, गोरखबहादुर गणका गणपति निरन्जन धामी, मकवानपुरगढी पर्यटन विकास समितिका अध्यक्ष वकिलराज बानियाँले नेपालको एकीकरण, पृथ्वीनारायण शाह र समग्र मकवानपुरगढी दरवारको इतिहास र अहिलेको अवस्थाबारे चर्चा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*