कुष्माण्ड सरोवर त्रिवेणीधाममा मकरमेला जारी
हेटौंडा-एक महिने मकरमेलाका क्रममा कुष्माण्ड सरोवर त्रिवेणी धाममा बिहीबार प्रा.डा. कान्ता भट्टराईले दार्शनिक प्रवचन दिएकी छन् । नियमित श्रीमदभागवत कथाप्रवचनका आलावा विभिन्न विद्वानबाट दार्शनिक प्रवचनसमेत भइरहेको त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए । यसैक्रममा विदूषि प्रा.डा.भट्टराईबाट प्रवचन भएको हो । प्रवचनका क्रममा डा भट्टराईले व्यवहारिक र अति ज्ञानवद्र्धक प्रवचन गरेको सहभागी भक्तजनहरुले बताएका छन् । यसैगरी शुक्रबार राष्ट्रिय धर्मसभाका अध्यक्ष प्राध्यापक डाक्टर माधवप्रसाद भट्टराईले दार्शनिक प्रवचन दिने अध्यक्ष न्यौपानेले जानकारी दिएका छन् ।
प्रा.डा. भट्टराईको मुखारबिन्दबाट हुने प्रवचन श्रवणका लागि सम्पूर्ण श्रद्धालुभक्तजनमा हार्दिक निमन्त्रणा गरिएको छ । यसअघि बुधबार पण्डित कुवेर सुवेदीबाट प्रवचन भएको थियो । धाममा एकमहिने मेलाका क्रममा पण्डित गोपाल चालिसे, यदुनाथ अधिकारी, मनिषशरण खनाल, जीवराज बख्रेलले कथा प्रवचन गरिरहेका छन् । बिहीबार त्रिशक्ति महाकाब्य लेखक चेतप्रसाद पौडेलले पनि भक्तजनका सामु आफ्नो भनाइ राखेका थिए ।







