हाँडीखोलामा कोल्डस्टोर निर्माण हुने

साझाकुरा
२०८० माघ १२, शुक्रबार १०:२७

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिका–३ हाँडीखोलामा कोल्डस्टोर निर्माण हुने भएको छ । मनहरी गाउँपालिकाको ६ करोडभन्दा बढी रकम लगानीमा कोल्डस्टोर निर्माण गर्न लागेको हो ।तरकारी उत्पादनको लागि पकेट क्षेत्र मानिने हाँडीखोलामा गाउँपालिकाले बुधबार हिमालयन नमोवुद्ध जेभीसँग ६ करोड २८ लाख ४५ हजारमा कोल्डस्टोर निर्माण गर्ने सम्झौता गरेको छ । गत जेठ २ गते नै गाउँपालिकाले कोल्ड स्टोर निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाको प्राविधिक मूल्यांकन अनुरुप कुल ७ करोड ५७ लाख ९६ हजार लागत अनुमान गरिएकोमा हिमालयन नवोवुद्ध जेभीसँग सबैभन्दा कम ६ करोड २८ लाख ४५ हजारमा ठेक्का सम्झौता भएको थियो ।

बोलपत्रमा दोस्रो नम्बरमा परेको कम्पनी हिमाल एमएम जेभीलेले ठेक्का सकार्ने कम्पनीविरुद्ध मुद्दादायर गरेपछि तत्कालीन समयमा सम्झौता हुन सकेको थिएन । गत माघ ५ गते अदालतले सो रिट निवेदन खारेज गरेपछि गाउँपालिकाले बुधबार कम्पनीसँग सम्झौतागरेको हो । २ वर्षभित्र काम सक्याउने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको मनहरी ३ का वडाध्यक्ष अनन्तप्रकाश अर्यालले जानकारी दिए । मुद्दाका कारण सम्झौता नै ढिलाई भएको बताउँदै अर्यालले तोकिएको समयभित्रै काम सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिए ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले हाँडीखोलामा कोल्ड स्टोर निर्माण गर्ने निर्वाचन अघिकै योजना रहेकोमा त्यो पूरा हुन लागेको बताए । हाँडीखोलामा उत्पादन हुने तरकारी तथा बालीले उचित मूल्य नपाउँदा किसानहरु मर्कामा पर्ने गरेको बताउँदै अध्यक्ष कालाखेतीले कोल्ड स्टोर निर्माणपछि किसानले तरकारी तथा खेतीबाली भण्डारण गरी उचित समयमा बिक्री गरी राम्रो मूल्य पाउन सक्ने बताए ।

कोल्डस्टोर निर्माणको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३ करोड २० लाख रुपैयाँ बिनियोजन गरेको छ । आगामी वर्ष थप बजेटको व्यवस्था गरी कोल्ड स्टोर निर्माण पूरा गर्ने गाउँपालिकाको योजना छ । मनहरी गाउँपालिका वडा नं ३ हाँडीखोलामा कोल्ड स्टोर निर्माण भएपछि त्यस क्षेत्रमा उत्पादित तरकारीको भण्डारण गर्ने र उचित मूल्य प्राप्त भएपछि मात्रै बिक्री गर्ने सुविधा किसानले पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*