इन्द्रसरोवरको ६ महिनामा बजेट खर्च झण्डै ६ करोड मात्रै

साझाकुरा
२०८० माघ १३, शनिबार ११:५३

हेटौंडा- इन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्म १२.०७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ ।पालिकाले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरेको प्रगति विवरण (स्वतःप्रकाशन) मा यो तथ्यांक उल्लेख गरिएको छ । पालिकाले चालु आर्थिक वर्षका लागि ४९ करोड १७ लाख ७२ हजार बजेट विनियोजन गरेकोमा हालसम्म ५ करोड ९३ लाख ९२ हजार १ सय ५० रुपैयाँ मात्र खर्च गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १४.५७ वित्तीय प्रगति हासिल गर्दा सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रमा १५.२६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । पूर्वाधार विकासतर्फ १२.४९ प्रतिशत, सामाजिक विकासतर्फ ११.८४ र आर्थिक विकासतर्फ ४.६५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको पालिकाले ८ माघमा सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षका लागि तर्जुमा भएका योजनामध्ये ४६ वटा योजना सम्झौता भएको छ ।

पालिकाले हालसम्म १४ वटा ऐन, ३३ वटा कार्यविधि, ४ वटा नियमावली, ५ वटा निर्देशिका, २ वटा मापदण्ड, नीति र रणनीति १÷१ वटा निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । पालिकामा कानून शाखा स्थापना गरी गाउँसभा तथा कार्यपालिकाबाट पारित कानूनलाई व्यवस्थित गरिएको पालिकाले जनाएको छ । सेवा प्रदान गर्ने शाखाहरु र जिम्मेवार व्यक्तिको विवरण सार्वजनिक गरिएको भएपनि शाखागत प्रगति विवरण भने स्वतः प्रकाशनमा उल्लेख गरिएको छैन ।

सार्वजनिक विवरण अनुसार सेवा प्रदान गर्ने शाखा र जिम्मेवार कर्मचारीमा प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाको नामावली पालिकाले सार्वजनिक गरेको छ । पालिकाका सूचना अधिकारी दीपक चापागाईद्वारा हस्ताक्षरित स्वतः प्रकाशन विवरणमा पालिकाको काम कार्तव्य, अधिकारसहित सेवा प्रवाह र पारदर्शिताका विधि अवलम्बन हुने झलक प्रकाशन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*