प्रहरी समायोजन अघि बढाउन गृहमन्त्रीसहित प्रदेशमन्त्रीहरुको निर्णय
हेटौंडा-गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको गृह मन्त्रालयसँग सम्बन्धित विषयगत समितिको बैठकले प्रहरी समायोजनलाई यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको छ ।संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ बमोजिम उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठसहित सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्रीहरुले प्रहरी समायोजनलाई यथाशीघ्र अगाडि बढाउने बारे निर्णय गरेका हुन् । गृहमन्त्री श्रेष्ठले आइतबार सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुसँग प्रहरी समायोजन, संघीय प्रहरी विधेयक र देशको शान्तिसुरक्षाको सम्बन्धमा छलफल गरेका हुन् ।
प्रहरी समायोजनका विषयमा प्रदेश सरकारहरु विगतदेखि नै आन्दोलनरत् थिए । संवैधानिक अधिकार दिन संघ सरकारले नै आनाकानी गरिरहेको भन्दै मधेश प्रदेश सरकार अदालत पुगेको थियो । बागमती सरकारले प्रहरी समायोजनको मुद्दामा संघीय सरकारलाई विगतदेखि नै झकझकाउने काम गरिरहेको थियो । आइतबारको बैठकपछि गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रहरी समायोजन ऐन र नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय गर्ने सम्बन्धी ऐनको समसामयिक परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएकोले त्यसलाई समसामयिक रुपमा परिमार्जन गर्ने निर्णय भएको पनि जानकारी दिए ।
उनले नेपाल प्रहरी ऐन र स्थानीय प्रशासन ऐन तर्जुमाको चरणमा रहेकाले यसलाई पनि अरु ऐनसँग तालमेल हुनेगरी नयाँ कानुन निर्माण गर्ने निर्णय भएको जानकारी दिए । प्रहरी समायोजन ऐन र नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय गर्ने सम्बन्धी ऐन तर्जुमा भइसकेका दुईवटा ऐनको समसामयिक परिमार्जन गर्नेपर्ने आवश्यकता देखिएको भट्टराईले बताए । नेपाल प्रहरी ऐन र स्थानीय प्रशासन ऐन तर्जुमाको चरणमा रहेको बताउँदै उनले यी दुवै ऐन शान्तिसुरक्षासँग महत्व राख्ने भएकाले अरु ऐनसँग तालमेल हुनेगरी नयाँ कानुन निर्माण गर्ने बताए ।
बैठकका निर्णयहरु माघ १७ मा बस्ने प्रधानमन्त्रीको अध्यक्षतामा सञ्चालन हुने राष्ट्रिय समन्वय परिषद्मा पठाउने निर्णय भएको पनि भट्टराईले जानकारी दिए । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आइतबारको बैठकले माघ १७ को प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय समन्वय समितिको बैठकले प्रहरी समायोजनको कामलाई अगाडि बढाउने बताए । समितिको बैठकपछि प्रहरी समायोजन समिति बन्ने र सो समितिले प्रहरी समायोजनको काम आरम्भ जानकारी दिए । ‘आजको बैठकले माघको १७ गते राष्ट्रिय समन्वय समिति प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्ने र त्यो बैठकबाट तुरुन्त प्रहरी समायोजनको कार्य अगाडि बढाउने निर्णय भएको छ’, उनले भने ।







