बस्तीपुर जेसीजको पदस्थापना
हेटौंडा-बस्तीपुर जेसीज हाँडीखोलाको १३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम भएको छ । पदस्थापनाबाट नवनिर्वाचित अध्यक्ष अमृत पाठक सहितका पदाधिकारीलाई पदभार हस्तान्तरण गरिएको छ ।हेटौंडा उपमहानगरपालिका–१९, स्थित जेसीजको सभाहलमा आयोजित कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष जेसी प्रेमबहादुर गोङ्बाले वर्ष २०२४ का लागि निर्वाचित अमृत पाठकलाई पद हस्तान्तरण गरे । जेसीजका नवनिर्वाचित कार्यकारिणी उपाध्यक्षमा हरेराम हटुवाल (निर्मल), सञ्जोग उप्रेती र उपाध्यक्षमा लोक लामामोक्तान, रविन लामा, सोवित वाईबा र दिनेश चौलागाई, कोषाध्यक्ष सन्देश पण्डित, महासचिव सुरज बर्तौला र कानुनी सल्लाहकार सन्दीप पाठक सहितका पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।
बस्तिपुर जेसीज हाँडीखोलाका नवनिर्वाचित अध्यक्ष पाठकले पदभार ग्रहणको कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई अध्यक्ष बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे । अध्यक्ष पाठकले आफ्नो कार्यकालमा गरिब तथा विपन्न विद्यार्थीको स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने बताए । कार्यक्रममा उनले आर्थिक रुपमा विपन्न परिवारका बालबालिका स्वास्थ्यसेवा र गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नदिन आफूले विशेष पहल गर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य तथा पूर्वउर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले जेसीजले देखाएको नेतृत्व हस्तान्तरणको शैलीबाट अन्य राजनीतिक दलका नेताहरुले पनि सिक्नुपर्नेमा जोड दिए ।
‘नेताहरु ५ पटक मन्त्री बन्दा पनि पदको लोभ त्याग्दैनन् र हस्तान्तरणको कला बुझ्दैनन् । तर, जेसीजले गरेको पद हस्तान्तरणबाट नेताहरुले सिक्नुपर्छ ।’, सिंहले भने । उनले दलमा पनि जेसीज जस्तो नेतृत्व हस्तान्तरण गर्ने शैलीको विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जेसीजलाई आह्वान गर्दै युवाका लागि रोजगारीका अवसर श्रृजना गर्ने तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरी युवालाई सशक्त बनाउन आग्रह गरे ।कार्यक्रमका अबसरमा सामाजसेवी पुरस्कार ॐ बृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई प्रदान गरिएको छ ।
पत्रकार रुपककालिराजलाई ‘स्वर्गीय उदयसिंह पाठक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कृत कालिराज र श्रेष्ठलाई जनही ७ हजार २ सय २ रुपैयाँ नगदसहित पुरस्कृतगरिएको हो । आरती पाठकको संयोजनमा भएको कार्यक्रममा नेपाल जेसीजका महासचिव सरोज अधिकारी, हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठ, बस्तीपुर जेसीज २०१८ का अध्यक्ष राममणि बर्तौला, पूर्वअध्यक्ष राजेश भेटवाललगायतले मन्तव्य व्यक्त गरेका छन् ।







