गुन्द्रुक निर्यातका लागि अनुज्ञापत्र लिंदै पदमपोखरीका महिला
हेटौंडा-देश तथा बिदेशमा पनि सबैको चासोको तरकारीमा पर्ने गुन्द्रुकको व्यावसायिक उत्पादन हेटौंडामै थालिएको छ । नेपाली खानाको बिषेश परिकारमा पर्ने गुन्द्रुकको उत्पादन र बजारीकरणका लागि हेटौंडा–१२ को महिला कृषि समूह लागि परेको छ ।हेटौंडा उपमहानगरपालिका–१२ मा रहेको कञ्चनगंगा कृषि सहकारीसँग आवद्ध रहेको कृषि महिला समूहले उत्पादन गरेको गुन्द्रुकको अनुज्ञापत्र लिने तयारी थालिएको छ । कञ्चनगंगा कृषि समूहले अनुज्ञापत्रका लागि प्रकृया अघि बढाइ सकेको छ । अब खाद्यपरीक्षण प्रयोगशालाबाट गुणस्तरमापन पछि बजारीकरणका लागि सहज हुने उपमहानगरपालिका उद्योग शाखाप्रमुख हिमप्रसाद पौडेलले बताए ।
गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत सञ्चालन भएको गुन्द्रुक उत्पादन गर्ने कार्यको नियमितरुपमा प्राविधिकको निरीक्षण तथा अनुगमन सहित थालिएको छ । हेटौंडा–१२ आँपधाप, घलेगाउँमा स्थानीय २० जना महिलाले समूह बनाएर कामलाई अघि बढाइरहेको शाखाप्रमुख पौडेलले बताए । अहिलेलाई १५ कठ्ठा क्षेत्रफलमा साग खेतीबाट सुरु गरिएको गुन्द्रुक उत्पादनलाई निरन्तरता दिँदै २१ कठ्ठासम्म साग लगाउने लक्ष्यराखिएको समूहका अध्यक्ष चिनिमाया गुरुङले बताइन् ।
प्रयाप्त सिंचाईको अभाबका कारण बञ्जर रहेको जमिनमा सामान्य पानीको प्रयोगबाट साग लगाउँदै गुन्द्रकको उत्पादनमा लागेका छौं, उपमहानगरबाट तालिममा र उत्पादनपछि बजारीकरणमा सहयोगको प्रतिबद्धता भएसँगै उत्पादनमा जोडिएको उनले बताइन् । उत्पादन भएको केही गुन्द्रुक बिक्रीका लागि थालनी भएको छ । गुणस्तरीय बनाउँनका लागि प्राबिधिक आएर गाउँमै सिकाउने भएकाले बिस्तारै बजारीकरणमा सहज हुने आश रहेको अध्यक्ष गुरुङले बताइन् ।
उत्पादन भएको केही गुन्द्रुक परीक्षणका लागि हामीले प्रयोग गरेका छौं, अहिलेलाई स्वाद र गुणस्तरमा त्यस्तो समस्या देखिएको छैन, बजार पठाउँने कुरामा थप सर्तकता अपनाएर पठाउने उनले बताइन् ।नगरक्षेत्र भित्रै रहेर महिलाले गरिरहेका कामको अनुगमन गर्न पुगेकी उपमहानगरपलिका नगरप्रमुख मीनाकुमारी लामाले बजारीकरण भन्दा पनि गुणस्तरमा ध्यान दिन आग्रह गरिन् ।
गुणस्तरीय उत्पादन भए व्यापारी गाउँसम्म लिन आउँने भन्दै कसरी गुणस्तरीय बनाउँने हो त्यो सोच्न जरुरी छ । बिश्वका घेरै देशले गुन्द्रुकको उत्पादन र बिक्री गर्दै आएका छन् हामीले बाह्य मुलुक हैन स्थानीय बजारमै आफ्नो उत्पादन बिक्री गर्न सके आर्थिक उपार्जनमा सहयोग पुग्ने उनको भनाई थियो । अहिले बजारमा सबै आवश्यक सामग्री पाइन्छ भनेर जमिन बाँझो राख्ने कार्यले आर्थिकरुपमा कम्जोर बनाउँदै लगेको नगरप्रमुख लामाको भनाई थियो ।
अनुगमनसँगै गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) वडास्तरीय अभिमूखीकरण तथा पिआरए कार्यक्रम सञ्चालन गरेको छ । हेटौंडा–१२ आँपधापमा नगरप्रमुख लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कञ्चनगंगा कृषि समूहका सदस्यको सहभागिता थियो । कार्यवाहक वडाअध्यक्ष महेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य तारा ढु·ाना, १२ नम्बर वडासदस्य गीता परियार, उपमहानगरपालिका उद्योग शाखाप्रमुख पौडेल, महिला उद्यमी गीता कडरीया मैनाली, समूहका अध्यक्ष चिनिमाया गुरुङको सहभागिता रहेको थियो ।







