पत्रकार शर्मा र न्यौपानेलाई रिपोटर्स क्लबको सम्मान
हेटौंडा-शहीद बासुदेव घिमिरे स्मृति पत्रकारिता पुरस्कार–२०८० बाट मकवानपुरका पत्रकार नवराज शर्मा तिमल्सिना र नवराज न्यौपानेलाई सम्मानित गरिएको छ । रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले हेटौंडामा मंगलबार पत्रकारद्वय शर्मा र न्यौपानेलाई जनही ८ हजार ८ सय ८८ राशीको पुरस्कारद्वारा सम्मानित गरेको हो ।बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले उनीहरुलाई नगदसहित सम्मानित गरेका हुन् । कार्यक्रममा शहीद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेलाई समेत सम्मान गरिएको थियो ।
यसैगरी रिपोर्टर्स क्लब मकवानपुरका पूर्वअध्यक्ष सविन न्यौपाने र सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै एष्ट्रोनोभा फाउण्डेशनलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । यस्तै पुरस्कृत पत्रकार न्यौपानेले आफूले प्राप्त गरेको नगद रकम शहीद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेलाई स्वास्थ्य उपचारको लागि सोही कार्यक्रममा हस्तान्तरण गरे ।
मुख्यमन्त्री जम्कट्टेलले पत्रकारलाई सामाजिक सुरक्षा अभियानमा आवद्ध गराउन प्रदेश सरकारले संचार रजिष्टारमार्फत् नीतिगत योजना तर्जुमा गरी कार्यान्वयन गर्न लागिएको बताए । उनले पत्रकार महासंघले पनि यो अभियानलाई गतिशीलता प्रदान गर्नुपर्नेमा जोड दिए । साथै मुख्यमन्त्री जम्कट्टेलले शहीद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेको उपचार खर्च प्रदेश सरकारले व्यर्होर्ने गरी प्रदेश सरकारसमक्ष प्रस्ताव राख्ने बताए ।
यस्तै, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेशमा रहेका सबै सञ्चार क्षेत्रलाई समष्टिगत रुपमा आत्मसम्मानका साथ विभिन्न अवसर जुटाउन प्रदेश सरकारले नीतिगत कार्यक्रम र बजेट तर्जुमा गरेको बताए । पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रियता र प्रजातन्त्रको सम्बद्र्धनको लागि सबै पत्रकार एकजुट हुनुपर्ने बताए ।
यसैगरी रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले प्रेस जगतलाई संगठित मर्यादित र अनुशासित रुपमा अगाडि बढाउनु पर्ने बताए । उनले संचारगृहलाई लोकतान्त्रिक विज्ञापन निष्पक्ष ढंगबाट उपलब्ध गराउन प्रदेश सरकारले सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे । कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, राप्रपाका नेता सीताराम बर्तौला, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ, मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजाललगायतको उपस्थिति थियो ।